भेप सुन तस्करी प्रकरण: थुनामा रहेका प्रतिवादीहरू उच्च अदालत पाटन पुगे


काठमाडौँ – भेपमा लुकाएर ल्याएको सुन चोरी र तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरू उच्च अदालत पाटन पुगेका छन् ।

भेपमा सुन प्रकरणमा प्रतिवादीहरू थुनामुक्त हुन पाउँ भन्दै दिएको निवेदनमा बिहीबार उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ ।

बिहीबार भेपमा सुन तस्करी प्रकरणमा प्रतिवादीहरूको निवेदन कामु मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश रमेश ढकालको संयुक्त इजलासमा परेको छ ।

आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका प्रतिवादीहरू साहेब राव पाण्डुरंग मरगले, दिनेश बस्नेत र रेवन्त खड्का तथा आपराधिक विश्वासघातको कसुरमा थुनामा रहेका निर्मल कुमार बिक थुनामुक्त हुनपाउँ भन्दै उच्च अदालत पुगेका हुन् ।

चिनियाँ नागरिकले भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले जफत गरेको अवस्थामा त्यहीँ कार्यरत सुरक्षा गार्ड निर्मल कुमार बिक तथा भन्सार एजेन्टहरूले विमानस्थलबाट सुन चोरी गरी विक्री वितरण गरेका थिए ।

अनुसन्धानका क्रममा ९ किलो सुन तस्करी गरी ल्याएको र उक्त सुन विमानस्थल भन्सारको गोदामबाट चोरी गरी विक्री वितरण गरेको पाइएको थियो । सोही प्रकरणमा काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतले थुनामै राख्ने आदेश दिएपछि ७३ नम्बरको निवेदन लिएर उनीहरू उच्च अदालत पाटन पुगेका हुन् । उच्च अदालतले धरौटी वा साधारण तारेखमा छाड्ने आदेश दिएमा प्रतिवादीहरू अदालतको आदेश बमोजिम छुट्नेछन् भने काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेमा उनीहरू थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ ।

प्रतिक्रिया