गैह्रीगाउँ सामूहिक हत्या प्रकरणः हत्यामा प्रयोग भएको हतियार खोज्दै प्रहरी
काठमाडौं – काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले हत्यामा प्रयोग भएको हतियार खोजी गरिहेको छ ।
शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो।
मृतकको टाउको,घाँटी लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरेको देखिएको थियो। हत्यामा प्रयोग भएको हतियार भने भेटिएको छैन। प्रहरीले हत्यामा प्रयोग भएको हतियार खोजीरहेको बताईएको छ ।
सामूहिक हत्या प्रकरणमा प्रहरीले थप चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। विपेन राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए।
खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार जनाको विभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो। प्रहरीले थप चार जनालाई जडिबुटी क्षेत्रबाट नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको प्रहरी स्रोतले बतायो।