

सुवास नेम्वाङको निधनप्रति समाजवादी मोर्चाद्वारा दुःख व्यक्त

काठमाडौं – समाजवादी मोर्चा नेपालले संविधानसभा अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले आज एक विज्ञप्ति जारी गर्दै नेता नेम्वाङको निधनबाट मुलुकले लोकतान्त्रिक आन्दोलनका योद्धा गुमाएकामा दुःख व्यक्त गरेका छन् ।
विज्ञप्तिमा असल र सादगी नेता नेम्वाङको आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । कम्युनिष्ट आन्दोलनको विकास तथा समाजवादी आन्दोलनमा ठूलो योगदान गरेका नेम्वाङको निधनको खबरले आफू स्तब्ध भएको उनको भनाइ छ ।
गएराति हृदयाघातका कारण नेम्वाङको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको थियो । यसैबीच राष्ट्रिय जनमोर्चाले पनि विज्ञप्तिमार्फत उनको निधनमा दुःख व्यक्त गर्दै शोक प्रकट गरेको छ ।

