

पुटिनलाई भेट्न रेल चढेर रूसतिर लागे किम जोङ उन

उत्तर कोरिया – उत्तर कोरियाली नेता किम जोङ उन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रूसको यात्रामा निस्किएका छन्।
बिबिसीका अनुसार सोमबार उनको रेल प्योङयाङबाट छुटेको छ। सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाका सञ्चारमाध्यमहरूले रेल चढेर उन प्रशान्त महासागरको तटमा रहेको रूसी सहर भ्लादिभोस्तोकका लागि यात्रामा निस्किएका हुन्।
युक्रेनसँगको युद्ध लडिरहेका पुटिनलाई भ्लादिभोस्तोकमा भेटेर उनले हतियार उपलब्ध गराउने विषयमा कुरा गर्ने बताइएको छ। त्यसको बदलामा रूसबाट खाद्यान्न ल्याउने डिल हुनसक्छ। उनको भ्रमणबारे तयारी गर्न केही दिनअघि उत्तर कोरियाली टोलीले रूसको भ्रमण गरेको थियो। उनले ४ वर्षपछि पहिलो पटक विदेश भ्रमण गरेका हुन्।
उत्तर कोरियाली शासक उन बिरलै विदेश भ्रमण गर्छन्। विदेश भ्रमणमा जाँदा उनी रेलमा यात्रा गर्छन्। अमेरिकी समाचार पत्र न्यूयोर्क टाइम्सका अनुसार किमको शासनजस्तै रेलको चलन पनि हजुरबुवाबाट बुवा हुँदै उनीसम्म आइपुगेको हो।
उत्तर कोरियामा शासन गर्ने किम तेस्रो पुस्ताका नेता हुन्। सन् १९५० को दशकमा दुई कोरिया छुट्टिएपछि उनका हजुरबुबा किम इल सङ शासक बनेका थिए। उनै सङले रेलबाट विदेश जाने चलन ल्याएका हुन्। सन् १९८४मा सङ रेलमै पूर्वी युरोप गएका थिए।
त्यसलाई उनका छोरा किम जोङ इलले पनि निरन्तरता दिए। इलको सन् २०११ मा रेल यात्राकै क्रममा हृदयघात भएर निधन भएको बताइन्छ।
तेस्रो पुस्ताका उनले पनि आफ्नो पहिलो विदेश भ्रमण रेलबाटै गरे।

