गोर्खा सैनिकलाई बेलायत सरकारले विभेद् गर्‍यो : प्रधानमन्त्री दाहाल


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले गोर्खा सैनिकलाई बेलायत सरकारले विभेद् गरेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित पूर्वगोर्खा सैनिकको समस्या समाधानको लागि आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोर्खालीहरूलाई सरकारले न्यायको प्रत्याभूति दिलाउन नसकेकोमा दुख व्यक्त गरे।

उनले यो विषय सबै नेपालीहरूको लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको बताए। उनले गोर्खालीहरूले ब्रिटिस राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले कूटनीतिक माध्यमबाट समाधान खोजिने बताए।

प्रधानमन्त्रीले भने, ‘भूतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्ने मुद्दा नभएर दुईदेशीय एवं बहुपक्षीय रूपमा उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने मुद्दा हो। विश्वभरि रहेका नेपालीको हकहितका निम्ति राज्यले यस्ता मुद्दा अन्तर्राष्ट्रिय फोरममा उठाउनुपर्छ र त्यसमार्फत सम्बोधन गर्नुपर्छ भन्नेमा म प्रष्ट छु।’

प्रतिक्रिया