‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान भाेली देशभर एकैपटक उद्घाटन हुने, को कहाँ खटिए ?


काठमाडौं – नेकपा माओवादी केन्द्रले शनिबारदेखि ‘जनतासँग विशेष अभियान’ देशभर एक साथ सञ्चालन गर्दै छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयबाट पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले अभियानको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए।

शनिबार ७ हजार २ सय ४२ वडाहरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे भर्चुअलमाध्यमबाट एकैपटक उद्घाटन हुने पनि उनले जानकारी दिए । अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८, हरिसिद्धीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।

त्यस्तै, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका–२२ मा खटिनेछन्। यस्तै, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा खटिने सापकोटाले जानकारी दिए।

त्यस्तै, सचिवमा दिनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० मा खटिने भएका छन्।

मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’ उद्देश्य राखेको छ।

गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धनलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

पार्टी अध्यक्ष प्रचण्डले अभियान शुभारम्भको घोषणा गरेसँगै देशभरका छ हजार सात ४२ वडामा एकसाथ अभियान सञ्चालन गर्नेगरी तयारी गरिएको माओवादीले जनाएको छ। अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ।

अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जनवर्गीय सङ्गठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ। माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ। उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ।

अभियानका लागि पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकार सदस्यको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारी सम्मिलित पालिकास्तरको टोली निर्माण गरिएको छ। अभियान टोलीले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्नेछ।

प्रतिक्रिया