नेविसंघमा दुजाङको ‘डनगिरी’ !

पब्लिक युथ क्याम्पसमा अखिलबाट विजयी स्ववियु सचिवलाई केन्द्रीय सदस्यको 'तोफा'


काठमाडौं – पछिल्लो समय सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) मा देखिएको भाँडभैलोको छताछुल्ल भएको छ ।

सभापति शेरबहादुर देउवाको अनुकम्पाले नेविसंघको सभापति बनेका दुजाङ शेर्पाले नेविसंघलाई पार्टीको भातृ संगठन भन्दा पनि कम्पनीका रुपमा अगाडि बढाएको पाइएको छ । सभापति मनोनित भइसकेपछि विभिन्न जिल्लाहरुमा मनोमानी ढंगले मनोनयनमा लागेका शेर्पाले पछिल्लो समय जम्बो तदर्थ समितिमा नेकपा एमालेको भातृ संगठनबाट स्ववियु सचिव बनेकालाई समेत नेविसंघको केन्द्रीय सदस्य बनाएको पाइएको छ ।

विस्तारित ७१० केन्द्रीय सदस्यमा जाजरकोटबाट केन्द्रीय सदस्यमा अटाएका निराजन विक्रम शाही पब्लिक युथ क्याम्पसका स्ववियु सचिव हुन् । उनी अनेरास्ववियुबाट सचिवमा निर्वाचित भएका व्यक्ति हुन् । उनले नेविसंघभित्रको बेथितिलाई छर्लङ्याउँदै आफ्नो फेसबुकमा नेवि संघको केन्द्रीय सदस्यमा मेरो नाम पनि परेकोमा मलाई बधाई छ, अब एमाले र कांग्रेस २ टै बाट राजनीति गर्नु पर्ने भो, भन्दै लेखेका छन् ।

त्यस्तै दुजाङले मनोनित गरेका अर्का विनोद लामा घिसिङले पनि केन्द्रीय समितिमा बिना कुनै सल्लाह र कुनै अनुरोध न कुनै इच्छा बिना नाम आएकोले नेविसंघ केन्द्रीय सदस्यबाट राजीनामा दिएको जानकारी फेसबुकमार्फत् नै जानकारी दिएका छन् । उनी नेविसंघका लागि उपत्यकाकै सबैभन्दा बलियो मानिएको शंकरदेव क्याम्पसका इकाई सभापति हुन् ।

त्यस्तै नेविसंघ काठमाडौं सभापति मनिष डंगोलले पनि आफू काठमाडौं जिल्ला अध्यक्ष नै रहने भएकोले नेविसंघको केन्द्रीय सदस्य पद अस्वीकार गरेको एक विज्ञप्तिमार्फत् नै जनाएका छन् ।

डंगोलले एक विज्ञप्ति निकाल्दै २०७९  फागुन २६ गते नेविसंघ काठमाडौंको जिम्मेवारी लिई स्ववियु निर्वाचनमा नेविसंघको विजयाका निम्ति सम्पूर्ण ढंगबाट समर्पित भएको उल्लेख गर्दै नेविसंघभित्र मौलाको एकाधिकारवादीले संगठनको मूल मर्म, गरिमा र भावनालाई कुठाराघात गरेको बताएका छन् ।

उनले अगाडि लेखेका छन्, ‘काठमाडौं जिल्लाका सन्दर्भमा हिजोका दिनमा भएको राजनीतिक सहमतिलाई भंग गरेर हुकुमी शासन जस्तो गरेर म नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाको अध्यक्ष पदमा बहाल रहँदा रहँदै केन्द्रीय सदस्य पदमा सल्लाह बेगर मनोनित गरेको भ्रमपूर्ण यथार्थलाई अस्वीकार गर्दछु र केन्द्रीय सदस्यको जिम्मेवारीमा नरहेको तर नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्षमा बहाल रहेको सबैलाई जानकारी गराउँछु ।’

दुजाङले मनिषको स्थानामा काठमाडौं अध्यक्षमा अंशुल केसीलाई अध्यक्षको जिम्मेवारी दिएको जनाएका छन् । मनिष बहाल रहँदाकै अवस्थामा बिना कुनै जानकारी मनिषलाई केन्द्रीय सदस्य बनाएका दुजाङले अंशुललाई काठमाडौं सभापतिको जिम्मेवारी दिएपछि काठमाडौं नेविसंघमा पनि विवाद देखिएको छ ।

त्यस्तै दुजाङले यसअघि कास्की जिल्ला अध्यक्षमा मनोनित गरेका नसिब गुरुङलाई केन्द्रीय सदस्यमा तानेर गौरब बराललाई नयाँ अध्यक्ष बनाएका छन् ।

यसरी हेर्दा नेविसंघ नेपाली कांग्रेसको भातृ संगठन भन्दा पनि दुजाङ शेर्पाको कम्पनी जस्तो भएको विद्यार्थी नेताहरु बताउँछन् ।

पछिल्लो समय नेविसंघको ७१० केन्द्रीय समिति मनोनयनबारे असन्तुष्ट विद्यार्थीहरु पार्टी शीर्ष नेतृत्वसम्म पनि पुगिसकेका छन् । यसअघि दुजाङको मनोमानी र एकाधिकारवादी चरित्रका बारेमा कतिपय माउ पार्टी कांग्रेसका जिल्ला अध्यक्षहरुले सभापति देउवासँग कारबाहीको माग गरे पनि देउवाले कुनै प्रतिक्रिया दिएका छैनन् । ‘देउवाले कुनै एक्सन नलिएपछि अहिले अखिलका नेतालाई नै नेविसंघको केन्द्रीय सदस्य बनाए,’ नेविसंघका एक विद्यार्थी नेता भन्छन् ।

त्यस्तै गत स्ववियु निर्वाचनमा पनि एउटै क्याम्पसमा विभिन्न नेताहरूलाइ मनोमानी ढंगले सभापतिको टिकट बाँडेका दुजाङविरूद्धमा कांग्रेस नेताहरूले सभापति देउवासमक्ष पटकपटक प्रश्न उठाउने गरेका छन् ।

प्रतिक्रिया