

सदनको अवरोध हटाउन सभामुखको पहल, प्रचण्ड र ओलीसँग फोन वार्ता

काठमाडौँ – सत्ता पक्ष र प्रतिपक्षी दलहरूको अडानका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएपछि सभामुख देवराज घिमिरेले जारी अवरोध हटाउन पहल गरेका छन् ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग फोन वार्ता गरेर उनले सदन सुचारु गराउन आग्रह गरेका थिए । सभामुख घिमिरेले आज दिउँसो १२ बजे बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरेका छन् ।
पटक पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ शीर्ष नेताहरूलाई घिमिरेले स्मरण गराएका थिए । सदन अवरोध खोल्ने विषयमा सोमबार पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख घिमिरेले पटक पटक छलफल गरेका थिए ।

