
अबेर राति पारित भयो प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक
काठमाडाैं – मिटरब्याज निरुत्साहन गर्न सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएको छ । आइतबार राति अबेर बसेको प्रतिनिधि सभाको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।
मिटरब्याज सम्बन्धी आयोग गठन गर्न सरकारले अध्यादेश मार्फत चैत्र २० गते कानुन ल्याएको थियो । सो कानुनलाई प्रतिस्थापन गर्न सरकारले राष्ट्रिय सभामा विधेयक पेस गरेको थियो । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आएको विधेयक आज सर्वसम्मतिबाट पारित भएको हो ।
प्रतिनिधि सभा बैठकमा कानुन मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि विपक्षी सांसदले राखेका अधिकांश संशोधनमा सरकारको तर्फबाट स्वामित्व लिएका थिए । विपक्षी दलका सांसदले समेत समर्थन गरेपछि मिटरब्याज सम्बन्धी कानुन सर्वसम्मतिले पारित भएको हो ।
मिटरब्याज पीडितका समस्या समाधान गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग गठन गरेका थिए । असार २० गते नै प्रतिष्थापन विधेयक पारित गर्ने तयारी रहेकोमा विपक्षी दलका सांसदको अवरोधले सो दिन पारित हुन नसकेको थिएन ।
त्यसपछि मिटरब्याज पीडितहरूले पुनः सडक सङ्घर्ष गरेका थिए । उनीहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै गृहमन्त्री श्रेष्ठले सडकमै गएर पीडितलाई सम्बोधन गरेका थिए । प्रतिनिधि सभाबाट समेत कानुन पारित भएपछि आयोगले कानुनी मान्यता पाएको छ ।
गणतन्त्रमा पनि मासान्तवादको अवशेषको रूपमा रहेको मिटरब्याज सम्बन्धी समस्यालाई हरहालतमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्री श्रेष्ठले जनाउँदै आएका थिए । जनकपुरमा कार्यालय स्थापना गरेर आयोगले काम गरेको छ ।
विधेयक पारित गरेर प्रतिनिधि सभा बैठक साउन १० गतेसम्मको लागि स्थगित भएको छ ।



कागजपत्र |
