मुख्यमन्त्री राईविरुद्धको अविश्‍वास प्रस्‍ताव अन्योलमा


विराटनगर – प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्‍वासको प्रस्ताव अहिलेसम्म अन्योलमा छ । २ महिना अघि अविश्‍वासको प्रस्ताव दर्ता भएकाे थियाे । त्यसपछि २ पटक प्रदेश सभा बैठक बस्यो तर सदनको कारबाही नै अघि बढ्न नदिएर बैठक स्थगन गरियो ।

अब फागन ९ गते दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक बोलाएको छ । उक्त बैठकमा अविश्‍वासको प्रस्ताव टेबल हुनु पर्ने माग नेकपाको दाहाल-नेपाल समूहको छ  । यता ओली समूह कुनै हालतमा पनि अविश्‍वासको प्रस्ताव टेबल हुन नदिने रणनीतिमा रहेका बताइएकाे छ ।

यति बेला प्रदेश राजधानी विराटगरमा अविश्‍वासको प्रस्तावको चर्चा नै हराएको छ । नेकपा दाहाल-नेपाल समूह र कांग्रेसको ध्यान सडक आन्दोलन तिर छ भने नेकपा ओली पक्ष जनप्रदर्शन र सरकारको वार्षिक उत्सव मनाउन तथा उद्घाटनमा नै व्यस्त छन् ।

‘अविश्‍वासको प्रस्ताव कुनै हालतमा पनि टेबल हुन सक्दैन्,’ नेकपा ओली समूहका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले भने, ‘पार्टी विभाजन नभएसम्म यो दलको नेता शेरधन राई हो । कि त प्रदेश सभा सचिवालयले दलको नेता परिर्वतन भएको जानकारी दिन सक्नु पर्‍यो । हैन भने दलको नेताको हैसियतले तीन महिनाका लागि निलम्बन गरेका सांसदलाई सदनमा राखेर सदन सञ्‍चालन हुन सक्दैन ।’

ओली समूहले आफ्नै मुख्यमन्त्रीविरुद्ध अविश्‍वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेको भन्दै दाहाल-नेपाल पक्षका १६ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेको थियो । अहिले आएर ति सदस्यलाई सभामुखले सदन भित्र राखेर सदन सञ्‍चालन गर्न खोजेको भन्दै सत्ता पक्षकै सांसद सदनमा उभिएर अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया