पत्रकार महिला आवास गृह भवनको उद्घाटन


काठमाडौं– नेपाल पत्रकार महासंघ महिला समितिको समन्वयमा व्यवस्थापन गरिएको पत्रकार महिला आवास गृहको उद्घाटन भएको छ । नेपाल पत्रकार महासंघको कार्यालय परिषरमा रहेको भवनमा उक्त आवास गृहको उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघक अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलाका हक अधिकारका लागि महासंघ प्रतिवद्ध रहेको बताए ।

आवास गृहको उद्घाटन नेपाल पत्रकार महासंघकी पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले गरेकी हुन् । भवन उद्घाटन गर्दै बुढाथोेकीले देशमा महिला पत्रकारको संख्या बढेपनि गुणात्मक रुपमा क्षमताबृद्धिको लागि पत्रकारहरुको संस्था लाग्नुपर्नेमा जोड दिइन् । सोही अबसरमा बोल्ने बक्ताहरुले बाहिरबाट काठमाडौंमा आउने पत्रकार महिलाहरुको लागि आवास गृहले फाइदा पुग्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघका महिला समिति संयोजक लक्ष्मी पुनले आवास गृहको शुरुवात गरेको र यसको क्षमता विस्तारमा अझ ध्यान दिदै जाने बताइन् । उनले अहिले तत्कालका लागि १ वटा मातृत्व कक्षसहित १० जना पत्रकार महिला अट्ने क्षमता रहेको बताइन् ।

नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालय परिषरमा यसअघि पुरुष आवास गृह रहेकोमा अहिले महिला आवास गृहको शुरुवात गरिएको हो । हाल पुरुष आवास गृहमा बस्ने पुरुष पत्रकारले एक दिनको १ सय रुपैयाँ र पत्रकार महिलाले ५० रुपैयाँ रजिष्टेशन गर्ने व्यवस्था गरिएको महिला समितिले जनाएको छ ।

प्रतिक्रिया