

‘भागरथी हत्याका दोषी पक्राउ नजीक’: गृहमन्त्री थापा

काठमाडौं – महिला कानुन व्यवसायीहरुले बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
महिला कानून व्यावसायीहरुले घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई आज (मंगलबार) ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल बार एशोसिएसन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथीलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानुनी दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।
एशोसिएसनका उपाध्यक्ष एवं नेपाल बार एशोसिएसन महिला समिति अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको घटनालगायत देशव्यापी रुपमा भएका बलात्कारका घटनाहरुको सूक्ष्म अध्ययन गरी अपराधीलाई कारबाही गर्न माग गरिएको बताइन् ।
भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधी नजिक पुगेको र अपराधीहरु छिटै पक्राउ पर्ने विश्वास दिलाउन कोशिस गरेको बस्यालले बताइन् । महिला कानुन व्यवसायीहरुले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुसन्धान नगर्न समेत गृहमन्त्री थापा समक्ष माग गरेका छन् ।
बालबालिका तथा महिलाहरुमाथि भइरहेको श्रृंखलाबद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्या र बलात्कारीलाई कानुनी कारबाहीमा ल्याउनुको साटो बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवनरक्षाको दायित्वप्रति लापरबाही भएको पुष्टि भएको समेत महिला कानुन व्यवसायीहरुले बताएका छन् ।

