

तारेखका लागि मेयर बालेन आफैं तारेख अदालत धाउनुपर्ने

काठमाडौं– सर्वोच्च अदालतले काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहलाई अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर तारेख लिन भनेको छ।
वारेस राखेर मुद्दा लड्न अनुमति माग गरिएको निवेदनमा आदेश गर्दै सर्वोच्चले आफैं उपस्थित हुन भनेको हो। अधिवक्ता वर्षाकुमार झाले दायर गरेको रिटमा दोस्रो सुनुवाइ गर्दै अदालतले यस्तो आदेश गरेको हो।
यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। सर्वोच्चले अदालतको अवहेलना हुने गरी दिएको अभिव्यक्तिवारे जवाफ दिन भनेको थियो। शाहले अदालत भारतीय पक्षको भएको भनी टिप्पणी गरेका थिए।
बालेनले आदिपुरुष फिल्ममा समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि फिल्न चल्न नदिने घोषणा गरी फिल्म हलहरुमा महानगर प्रहरी खटाएका थिए।
त्यसलगत्तै हलवालाहरुको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नू/ नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

