प्रचण्डका ज्वाईँ आचार्यको ‘प्रमोशन’ !

यसअघि पर्यटन, वन तथा वातावरण मन्त्री रहेका उनले अहिले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्


विराटनगर – आइतबार कोशी प्रदेशका नवनियुक्त ३ नयाँ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ लिनेमा प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाईं एवं प्रधानमन्त्री सचिवालय सदस्य गंगा दाहालका श्रीमान् जीवन आचार्यले प्रमोशनसहित आर्थिक मामिला मन्त्रालय पाएका छन् ।

यसअघिका मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका आचार्यले मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाले पदबहाली गरेसँगै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

उनी बाहेक सपथ लिएका अन्य दुई मन्त्रीहरुको भने मन्त्रालयको टुंगो लागिसकेको छैन । आइतबार आचार्यसहित राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन ।

प्रतिक्रिया