
सरकारको लोकप्रियताकै कारण अन्तरराष्ट्रिय मञ्चमा नेपाल खोज्न थालियो : प्रधानमन्त्री ओली
लुम्बिनी – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको लोकप्रियताकै कारण अन्तरराष्ट्रिय मञ्चमा नेपाल खोज्न थालिएको बताएका छन् । राष्ट्रिय स्वाधिनताका पक्षमा प्रतिबद्ध रहेकै कारण विश्व मञ्चमा नेपालको उपस्थिति देखिएको उनको भनाइ छ । “पहिले नेपाललाई बोलाउने चलन थिएन तर अहिले खोज्न थालिएको छ, विश्वमञ्चमा नेपालको उपस्थिति अहिले आवश्यकता हुन थालेको छ”, उनले भने । नेकपा प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक परिर्वतन, समृद्धि र सुशासनका लागि सरकार अघि बढिरहेका बेला समस्या सिर्जना भएको भन्दै केही मानिसले देश बनाउने नभई आफू र आफ्नो गुट बनाउने उद्देश्य नछाडेको उल्लेख गरे ।
पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि बल्ल पार्टी शुद्धीकरण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाल पार्टीबाट बाहिर गएर शुद्धीकरण हुनुका साथै पार्टी गतिशिल भएको दाबी गरे । ‘तीन वर्ष पार्टी निस्प्रभावी भयो । गएका वर्षमा हामीले यस्तो आमसभा गर्न सक्दैन थियौँ । अहिले जनतामा उत्साह छाएको छ”, प्रधानमन्त्री ओलीले भने, ‘आन्दोलनले शुद्धीकरण खोजेको थियो । अहिले आफैँ महाशुद्धीकरण भएको छ ।” प्रधानमन्त्री ओलीले आफ्नै पार्टीले तीन वर्षसम्म काम गर्न नदिएको स्पष्ट पारे ।
पार्टीमा देश बनाउने उद्देश्यमा सहमत हुन नसक्ने तत्व पार्टी छोडेर सडकमा पुगेको बताउँदै उनले ताजा जनादेशका लागि जनतामा जानु प्रतिमगन हो भने तपाइँले कस्तो व्यवस्था खोजेको हो भनी प्रश्न गरे । उनले भने, “देश बनाउने कुरा छैन तर, प्रधानमन्त्री बन्नुप¥यो, अर्कालाई पार्टी अध्यक्ष बन्न मन लाग्यो । मैले महाधिवेशनबाट अध्यक्ष चुन्ने प्रक्रियामा जाउँभन्दा उधारो होइन हाताहाती नगद चाहियो भन्ने रु”
तीन वर्षदेखि बन्न नसकेका संवैधानिक आयोग दाहाल–नेपाल पक्ष गएपछि बनेको र काम पनि हुन थालेको बताउँदै प्रधानमन्त्री ओलीले देश बनाउने सङ्कल्पका साथ नेकपा एकताबद्ध भएर अघि बढेको विचार व्यक्त गरे । सबैले बुझ्ने गरी पार्टी विरोधी गतिविधि हुँदा नेकपा फुट्छ भन्ने आँकलन धेरैले गरेको बताउँदै देशको हित नचाहने बाहिरीएर केही फरक नपर्ने तर्क गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी देश बनाउन हिँडेका छौँ, त्यसैले जित्छौँ । १० वर्षसम्म प्रचण्डले झुक्याउनु भएको थियो । अब त्यो समय गयो, जनता अलमलिदैनन् ।’ सरकारलाई आलोचना गर्ने क्रममा विकास निर्माणका कामलाई नजर अन्दाज गर्ने काम भएको उल्लेख गर्दै उनले पूर्वाधार विकास निर्माणमा उल्लेखनीय काम भएकाले प्रदेश र स्थानीय तहमा विकासको लहर सिर्जना भएको जनाए ।
प्रधानमन्त्री ओलीले लुम्बिनीमा पाँच हजार क्षमताको सभाहल तथा ध्यान केन्द्र निर्माण, भैरहवा बुटवल हुँदै पोखरा जाने सिद्धार्थ राजमार्ग डबल लेन, कालीगण्डकी करिडोर निर्माणाकोे प्रक्रिया अघि बढेको जानकारी गराए । यो भूभाग पुरानो सभ्यताको इतिहास भएको क्षेत्र रहेको चर्चा गर्दै उनले लुम्बिनी क्षेत्र रामापिथेकसको बङ्गारा भएको स्थान, कपिलमुनिको भूमि, धेरै ज्ञानी ध्यानी क्रषिमूनिको स्थलसमेत भएकाले लुम्बिनीको महत्व छुट्टै रहेको बताए
उनले कोही पनि मानिस सडकमा अलपत्र नपरोस् भन्नका लागि सरकार नै अभिभावक हो भनेर गाँस, बास र कपासको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्री ओलीले २०७८ सालसम्म नेपाललाई सहयोगापेक्षी मानव मुक्त बनाउने तयारी गरेको बताउनुभयो । सरकारले महिनाको १०० बाट शुरु गरेको वृद्धभत्ता अहिले दिनको १०० पुर्याइएको र ज्येष्ठ नागरिकलाई रु एक लाखसम्मको स्वास्थ्य बीमा गरिदिएको जनाउँदै सामाजिक सुरक्षाको दायरा पनि बढ्दै गएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानका लागि नागरिकलाई उत्पादनसँग जोड्ने काम भइरहेको बताउँदै सरकारको लोकप्रियता बढ्ने डरले षड्यन्त्र गरिएको धारणा राखे । प्रधानमन्त्री ओलीले सरकार चलाउन नदिइ देश अस्थिरतातर्फ लैजाने खेल भएपछि विशेषधिकार प्रयोग गरेर संसद विघटन गर्नुपरेको स्पष्ट पारे। ‘आफूलाई लोकप्रिय लागेको छ भने जनमतमा जानुपर्छ चुनावबाट तर्सिनु हुँदैन’, प्रधानमन्त्री ओलीले भरे ।
हिजोका दिनमा परिवर्तनका लागि भनेर शहीदको पंक्तीमा लाम लाग्न सिकाएकाले सत्तामा पुगेपछि जनयुद्धका घाइते र शहीद परिवारको बेवास्ता गरेको बताए । ‘हिजो झुठा सपना बाँडेर कतिलाई शहीद, घाइते बनाए ती सबैलाई सरकारले सम्बोधन गर्छ । उनीहरूको उपचार र रोजगारीको व्यवस्था गर्छौँ’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्ने तत्व सक्रिय रहेको बताउँदै हत्या हिंसामा संलग्न अपराधीलाई पानी मुनि गए पनि नछोड्ने प्रतिबद्धता जनाए । उनले मुलुकमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने भ्रष्टाचारी र अपराधीलाई कारवाही गर्ने बताए ।



कागजपत्र |
