

बन्दै गरेको नहरको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु

दार्चुला – दार्चुलाको अपीहिमाल गाउँपालिका–६ स्थित मज्जेमा निर्माणाधीन नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान निर्माणाधिन मज्जे खोला लघुजलविद्युत आयोजनाको नहरको पर्खाल भत्किदा दुई जना कामदारको मुत्यु भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण बुझ्न इलाका प्रहरी कार्यालय लटिनाथको प्रहरी टोली प्रहरी निरीक्षक कमलबहादुर विष्ट नेतृत्वमा घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भीर भागमा पर्खाल निर्माण गर्ने बेला एक्कासि पर्खाल भत्किँदा दुई जनाको ज्यान गएको स्थानीय भगतसिंह धामीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–६ मज्जेकी अन्दाजी ४० वर्षीया गोमती धामी र मार्मा गाउँपालिका–१ पाकुका अन्दाजी ४५ वर्षीय बल्देव महरा रहेका छन् ।

