यसकारण ‘जनयुद्ध’प्रति अनुदार छन् प्रधानमन्त्री ओली


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभक्त हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कतिपय पूर्वमाओवादी र त्यसमा पनि जनयुद्धमा नाम चलेका नेताले साथ दिएका छन्।

महासचिव नै रहेका रामबहादुर थापा बादलदेखि उज्जनकुमार श्रेष्ठ हत्याको अभियोगमा सजाय पाएका बालकृष्ण ढुंगेलसम्मले ओलीको साथ दिएका छन्। तैपनि ओली जनयुद्ध दिवसलाई अपनत्वका रुपमा लिइरहेका छैनन्।

नेकपा एकीकरण भएपछि पनि उनी जनयुद्धका नाममा भएका औपचारिक कार्यक्रममा कहिँ पनि सहभागी भएनन्। जसको आलोचना हुँदै आएको थियो। अहिले विभाजनको बेलामा प्रचण्डले त विभिन्न विरोध सभामा भन्ने गरेका छन् ‘ओलीजीले जनयुद्धलाई कहिल्यै स्वीकार’ गरेनन्।

त्यति मात्र होइन प्रचण्डको आलोचना गर्ने क्रममा ओलीले केही साता अघि जनयुद्धलाई ‘कुहिएको फर्सी’ भनी टिप्पणी गरेका थिए। जसको तिव्र आलोचना भएको थियो।

किन अनुदार छन्?

तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएपछि सडकमा सबैभन्दा धेरै आलोचना ओलीको गर्न थाल्यो। उनले सात दलीय संयुक्त सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि कम्युनिस्ट हुनुको नाताले माओवादीबारेमा धारणा राखेनन्। एउटा अन्तरवार्तामा उनले भनेका छन्,‘म नेकपा एमालेको मात्र कुरा भन्छु। सरकारको उपप्रधानमन्त्री भएकाले सरकारको कुरा गर्छु।’

‘माओवादी राजनीतिको मूलधारमा आएको खण्डमा एमालेको हैसियत सक्किने भन्ने बुझेका कारण नै ओली त्यसबेलादेखि अनुदार थिए’, प्रचण्डनिकट एक नेता भन्छन्,‘यो उपक्रम अहिलेसम्म पनि देखिएको छ। पदीय स्वार्थका लागि सम्झौता भए होला तर अहिले विभाजनको बेलासम्म आउँदा ओलीको नियत त्यस्तै पुष्टि भयो।’

माओवादी, जनयुद्धप्रति आक्रामक भएकै कारणले ओलीले आफ्नो राजनीतिक विरासतलाई स्थापित बनाएका थिए। त्यति मात्र होइन, योङ कम्युनिस्ट लिगले तत्कालिन एमालेलगायतका कार्यकर्ताको हत्या गर्न थालेपछि ओलीकै निर्देशनमा जाई लाग्न युथ फोर्स गठन गरिएको थियो।

‘जनयुद्धका नाममा केही नेताले मात्र राजनीति गरेको, केहीको मात्र उन्नती भएको तर त्यसलाई स्थापित गर्ने विस्थापित बनाइएको देखेपछि प्रधानमन्त्री जनयुद्धको औपचारिकतामा अनुदार जस्तो देखिनुभएको हो’, ओलीनिकट एक नेताले भने,‘जनयुद्ध भन्दा पनि युद्धमा पीडित भएकाको न्याय र क्षतिका लागि उहाँ अहिले पनि सक्रिय र उदार हुनुहुन्छ।’

प्रतिक्रिया