प्रदेश पुनः नामकरणको लागि भएको आन्दोलन शान्तिपूर्ण बनाउने सहमति


विराटनगर – कोसी प्रदेशमा पहिचान पक्षधरको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सर्वपक्षीय सहमति भएको छ।

कोसी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनलाई लिएर सुरक्षा अधिकारी, आन्दोलनरत पक्षका प्रतिनिधि एवं सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार बैठक एवं छलफल भएको थियो।

प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाममा कोसी राखेपछि त्यसको विरोध गर्दै पहिचान पक्षधर आन्दोलित बनेका थिए। कोसी नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै पहिचान पक्षधर आन्दोलनमा छन्।

आन्दोलनका क्रममा आगजनी, तोडफोड, आवागमन अवरुद्ध, कार्यालय सञ्चालन अवरुद्धलगायतका गतिविधि भइरहेका छन्। प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिलगायतका असहमत पक्षबाट विरोधका कार्यक्रम भइरहेकोमा अब उप्रान्त शान्ति सुव्यवस्थामा असर पर्ने कुनैपनि कामहरु नगर्ने सर्वपक्षीय सहमति बैठकमा भएको हो।

हिंसात्मक प्रदर्शनपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भयो। झडपमा ५४ जना सुरक्षाकर्मी र १७ जना आन्दोलनकारी घाइते भए।

प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक बुधबारका लागि बोलाइएको छ। बैठकमा अवरोध पुर्‍याउन प्रदेशसभा घेराउ गरिने पहिचान पक्षधर नेता राईले बताए।

प्रतिक्रिया