ख्वपमा दुई दिने राष्ट्रिय सम्मेलन सुरु


भक्तपुर – विश्वविद्यालय अनुदान आयोगको सहकार्य र ख्वप कलेजको आयोजनामा थर्ड नेशनल कफरेन्स अ मल्टिडिसिपनेलरी एपरोच टु एडरेस करेन्ट च्यालेन्जेज विषयक दुई दिने राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी समारोह उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरुले समाजलाई बुद्धिजीवीकरण गर्न र भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भक्तपुरका जनप्रतिनिधिहरुले असल नियतले इमानदारीपूर्वक जनताको सेवा गर्नुलाई नै ख्वप मोडलको रुपमा देशव्यापी रुपमा प्रचार भइरहेको बताउँदै असल राजनीति  र नेतृत्वले व्यापक जनताको हित हुने हुँदा युवा विद्यार्थीलाई राजनीति गर्न उत्साहित गर्नुपर्ने बताए ।

विकेन्द्रीकरण र स्वायत्तताको सिद्धान्तका आधारमा देश अगाडि बढ्न नसकेकै कारण नेपालमा संघीयता असफल हुंदै गएको बताउंदै अध्यक्ष बिजुकछेंले शासकहरुमा विवेक र नैतिकताको कमी भएकै कारण देश भ्रष्टाचारको अखडा बन्दै गइरहेको उल्लेख गरे । देशलाई बन्धक राख्ने विदेशी दलालहरुले देशको हितमा काम गर्न नसक्ने बताउंदै उनले प्रदेश सरकराले आफ्नो औचित्यता प्रष्ट गर्न नसक्नु लज्जास्पद विषय भएको बताए ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले विश्वविद्यालयहरु अनुसन्धानको केन्द्र बन्नुपर्ने धारणा राख्दै देश र समाजको लागि समर्पित जनशक्ति उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले ८ वटा कलेजहरु सञ्चालन गर्दै आइरहेको बताए । देशमा भइरहेको बेथिति र विकृतिहरुबाट सचेत हुंदै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने भक्तपुर नपाको मुख्य उद्देश्य रहेको बताउंदै नाफा र फाइदाको निम्ति नेपाली नागरिकलाई विदेशी बनाउन तयार हुने शासकहरुबाट नेपाली जनता सचेत हुन जरुरी रहेको बताए ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम्ग्म बागमती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले सम्मेलन पूर्ण सफलताको शुभकामना दिँदै आगामी वर्षमा पनि बौद्धिक गतिविधि र प्राज्ञिक अभ्यासले निरन्तरता पाउने विश्वास व्यक्त गरे । कोभिड १९ संक्रमणका कारण विश्व पर्यटनमा नकारात्मक असर पारेको बताउंदै उहांले शासकहरु देशको रक्षक हुनुपर्नेमा त्यसको विपरीत काम गरिरहेको बताए ।

प्रतिक्रिया