दुर्गममा कार्यरत बिरामी कर्मचारीको हेलिकप्टरबाट उद्धार


सुर्खेत – डोल्पोबुद्ध गाउँपालिका डोल्पामा कार्यरत उद्यम विकास सहजकर्ता गोविन्दकुमार विकलाई हेलिकप्टरमा उद्धार गर्ने तयारी थालिएको छ।

स्थलमार्गबाट अस्पतालसम्म ल्याउन सम्भव नभएपछि पालिकाकै पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए।

दुर्गममा काम गरिरहेका कर्मचारीलाई बिरामी हुनेबित्तिकै तत्काल उद्धार गर्न मुस्किल भएपछि हेलिकप्टरको सहारा लिनुपरेको हो। धोबाट डोल्पाको सदरमुकाम दुनै आउन दुई दिन हिँडनुपर्ने भएपछि हेलिकप्टरको सहारा लिनु परेको छ।

बिरामीको अवस्थाको अत्यन्तै चिन्ताजनक भएका कारण जतिसक्दो छिटो उद्धार गर्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन्। उपल्लो डोल्पामा काम गर्ने अधिकांश कर्मचारी बर्सेनी बिरामी हुँदा हैरानी हुँदै आएको छ। जेठ १२ गतेबाट बिरामी भएका विकको अवस्था बिग्रिँदै गएको छ। उद्धार हुन ढिला भएमा बिरामीको ज्यान जानसक्ने सम्भावना रहेको अधिकृत देवकोटाले बताए।

विक करिब एक वर्ष पाँच महिनादेखि डोल्पोबुद्धमा कार्यरत छन्।

प्रतिक्रिया