
शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैजनालाई थप हिरासतमा राख्न अनुमति माग गर्दै आरोपीहरुलाई अदालत लगिएको छ ।
नेपालीलाई अनागरिक बनाई अमेरिका पठाउने भन्दै करोडौं ठगी गरेको आरोपमा पक्राउ परेका १६ जनालाई थप समय हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतसँग अनुमति माग गरेको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधिसभा सदस्य एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको हो ।
यो प्रकरणमा केशव दुलाल, सानु भण्डारीसहितका व्यक्ति १२ चैतमा पक्राउ परेका थिए । संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आगामी शुक्रबार ६० दिन पूरा हुनेछ ।



कागजपत्र |
