

बालकृष्ण खाणलाई कांग्रेसले तत्काल कारवाही नगर्ने

काठमाडौं – नेपाली कांग्रेसले शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारवाही नगर्ने भएको छ।
धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बिहीवार बसेको कांग्रेस पदाधिकारी बैठकले खाणलाई तत्काल कारवाही आवश्यक नभएको निष्कर्ष निकालेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
हाल खाणले प्रहरी अनुसन्धानलाई सघाइरहेको र अदालतको निर्णय पर्खिने उनको भनाई छ । उनले भने, ‘कुनै पनि घटनामा पक्राउ पर्ने सबैलाई दोषी हो भन्न मिल्दैन, त्यसलाई अभियुक्तको रुपमा लिनुपर्छ । अदालतबाट फैसला आएपछि मात्रै दोषी हुने हो । उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो । तर निवासबाटै पक्राउ पर्नुभयो । उहाँले अनुसन्धानमा सघाइ रहनुभएको छ । हामीले अदालतको निर्णय पर्खिनुपर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणको राम्रो सँग छानबिन गर्नुपर्छ र कुनै पनि दोर्षी छुट्नुहुदैँन । र निर्दोष पनि पर्नुहुदैँन ।’
पूर्वगृहमन्त्रीसमेत रहेका खाण बुधवार बिहान बौद्धको कुमारीगालस्थित ‘फ्लाट’बाट पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ ।

