घरमाथि खस्याे भारतीय वायुसेनाको लडाकु जहाज, तीन जनाको मृत्यु


नयाँदिल्ली – भारतीय वायुसेनाको एउटा लडाकु जहाज घरमाथि खसेको छ । राजस्थानको हनुमानगढमा सोमबार बिहान मिग–२१ लडाकु जहाज घरमाथि खसेर दुर्घटना भएको हो । यो लडाकु जेट बहलोल नगर इलाकास्थित एक घरमाथि खसेको हो । दुर्घटनाका क्रममा यस घरभित्र रहेका तीन जना महिलाको मृत्यु भएको छ ।

पुलिसका अनुसार यसका पाइलट भने सुरक्षित छन् । घटनापछि त्यहाँ सयौँ स्थानीयबासी जम्मा भएका छन् । मृतकहरुमा ४५ वर्षीया बशोकौर, ६० वर्षीया बन्तो र ५५ वर्षीया लीला देवी छन् । तर २५ वर्षीय पाइलट राहुल अरोडा प्यारासुटबाट कुदेर आफ्नो ज्यान बचाएका छन् । उनलाई सुरतगढ पठाइएको छ ।

वायुसेनाका अनुसार दुर्घटनामा परेको मिग २१ तालिमका क्रममा थियो । उडानका क्रममा पाइलटलाई आपतकालीन अवस्थाबारे थाहा भएको थियो । उनले लडाकु जहाज सम्हाल्ने कोशिस पनि गरेका थिए । जब उनले नियन्त्रण गर्न असफल भए तब उनले आफूलाई प्यारासुटमार्फत जहाजबाट बाहिर निकाले ।

सुरतगढ एयरबेसबाट करिब २५ किलोमिटर पर यी पाइलट भेटिएका थिए । उनलाई सामान्य चोट लागेको छ । अहिले भारतीय वायु सेनाले दुर्घटनाको जाँच थालेको छ । लडाकु जहाज खसेको घरको छत पनि भत्किएर क्षतिग्रस्त भएको छ । यो दुर्घटनामा अन्य तीनजना पनि घाइते भएका छन् । मिग–२१ दुर्घटनापछि ठूलो आवाज आएको थियो । त्यसले अर्को घरको छत पनि खसेको छ । त्यस घरका महिला पनि घाइते भएका छन् ।

प्रतिक्रिया