

यस्तो छ आजको मौसम

काठमाडाैं – देशभर स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको र यो क्रम दिनभर नै रहने मौसमविद् सचिना शाक्यले जानकारी दिइन्।
‘दिउँसोपख देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने छ’ उनले भनिन्, ‘कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना पनि छ।’
त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भूभागमा सामान्य हावा–हुरीको सम्भावना रहेको पनि उनले बताइन्।

