
एसपी आभूषण तिम्सिनाको स्पष्टीकरण- ‘मर्यादा र आत्मसम्मान बचाउन राजीनामा दिने निर्णय गरें’
काठमाडौं – एसएसपी बढुवामा आफुमाथि अन्याय भएको भन्दै राजीनामा दिएका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले योग्यता मापन गर्ने कसी के हो भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै यस्तो प्रश्न गरेका हुन् । उनले केही दिनअघि एसएसपी बढुवामा असन्तुष्टि व्यक्त गर्दै राजिनामा दिएका थिए ।
अन्याय जिउँदो मानिसले सहनु हुन्न, अन्याय सहने बानी परे पछि जिउँदो मानिस र लासमा कुनै भिन्नता हुँदैन भन्ने यथार्थमा बिश्वास राख्ने मैले राजीनामा दिएर आफ्नो मर्यादा र आत्मसम्मान बचाउने निर्णय लिनुपरेको उनले बताए ।
म आफ्नो आत्मसम्मान, गौरव, ब्याबसायीकताको तेजोबध गरेर मैले रगत, पसिना बगाएको मातृ संस्थाबाट निस्किने निर्णय गर्न बाध्य भएको उनको भनाई छ ।
उनले प्रश्न गर्दै भने, ‘योग्यता मापन गर्ने कसी के हो ? चाकरि, चाप्लुसी, नातावाद, कृपावाद, टिकावाद, धनवाद, आदि योग्यता मापनका कसी हुन या काम हो ? यदि योग्यता मापनको कसी केबल काम हो भने मैले जागिर खाए देखि गरेका कामहरुको फेहरिस्त छ मँसँग ।’
उनले थपे, ‘सबै प्रतिस्पर्धिहरुको सम्पुर्ण जागिरे जीवनको कामको फेहरिस्त एक स्थानमा राखेर तुलना गरौं, बढुवाका मेरा प्रतिस्पर्धिहरुले गरेको कामको तुलना गर्दा म १९सौं नम्बरमा परेछु भने या मेरो काममा कुनै कमि देखिएछ भने म मैले आजीवन जनताको करबाट पाउने मैले काम गरेर आर्जेको कसैले खोस्न नसक्ने पेन्सन पनि त्यागिदिन्छु ।’
साथै उनले न्याय खोज्न कहाँ जाउँ म भनेका छन् । “न्याय नपाए गोरखा जानु” भनेर रामशाह कालीन भनाइलाई मनन गर्दै जाँदा अहिले त रामशाह नै छैन तर रामशाहपथ छ । कर्मचारीको हिसाबले मैले बढुवामा अन्याय पर्दा न्यायको लागि जाने पहिलो ठाउँ थियो लोकसेवा आयोग तर केहि समय पहिले भएको प्रनामनि बढुवाको क्रममा परेको उजुरीलाई जसरी हतारमा टुंग्याइयो त्यसले मलाई लोकसेवा गएर न्याय पाउने कुरामा बिश्वास नलागेको उनको भनाई छ ।
अर्को थियो रामशाहपथ अर्थात सर्बोच्च न्यायालय तर रामशाहपथमा अबस्थित न्यायालयबाट रामशाह खेदिन थालेको धेरै भइसकेको छ र अहिले त रामशाहपथमा रामशाह नै छैनन, उनले भनेका छन् । यस्तै उनले आफूमाथि अन्याय गर्ने सबै अन्यायीहरुको नाम बिस्तारै सार्बजनिक गर्दै जाने चेतावनी दिएका छन् ।



कागजपत्र |
