

पत्रपत्रिकामा खानेकुरा प्याक गर्न प्रतिबन्ध

काठमाडौं – सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
पत्रपत्रिकामा हुने रसायनका कारण मानिसको स्वास्थ्यका लागि खतरनाक असरपार्ने भएकाले पेपरमा स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा। मतिना जोशी वैद्यले पत्रपत्रिकामा खानेकुरा प्याक गर्न प्रतिबन्ध लगाउन कार्यविधि निर्माणको काम सुरु गरिएको बताएकी हुन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धि प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पारिन् ।
महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् ।

