रवि लामिछानेको ड्राइभर छतबाट खसेको सीसीटिभी फुटेज कसरी बाहिरियो ?


काठमाडौं – उपनिर्वाचनको माहोल तातिरहेको बेला चितवनमा भएको एउटा घटनाले सबैको ध्यान मोडिदिएको छ । सोमबार बिहानै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार रहेका रवि लामिछानेका नीजि सवारी चालक घरको छतबाट खसे । शम्भु भनिने दिलबहादुर थापा छतबाट खस्दा गम्भीर घाइते भएका छन् ।

घाइते थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए । उनले भने, ‘सिन्धुपाल्चोकको बाह्रविसे घर भएका थापाको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको रहेछ । खबर पाउनासाथ तत्काल उनलाई उद्दार गरेर अस्पताल पुर्याएका हौं ।’

उपनिर्वाचनको मिति नजिकिँदै गर्दा चर्चित उम्मेद्वारको रुपमा चिनिएका लामिछानेको नीजि गाडी चालक घतबाट खसेर घाइते भएपछि अनेकन टिकाटिप्पणी सुरु भएको छ । कतिपयले उक्त घटना नियतबस घटाइएको र कतिपयले भवितव्य भएको भनेर चर्चा समेत गरेका छन् ।

तर, वास्तविक कुरा के हो अनुसन्धान गर्ने निकाय नेपाल प्रहरीलाई थाहा होला । जिल्ला प्रहरी प्रमुख एसपी कार्की आफैंले घटनाको अनुसन्धान गरिरहेका छन् । यस विषयमा एसपी कार्कीले तत्काल केही भन्न नसकिने बताए । उनले थपे, ‘घटना कसरी भयो भनेर पत्ता लगाउन प्रहरीले गर्नुपर्ने जति काम गरिरहेका छौं ।’

यता, थापा घरको तेस्रो तल्लाबाट खसेको सीसीटिभी फुटेजसमेत सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा थापा खसेको देखिएपनि भुँइमा बजारिएको र माथिबाट कसरी झरेको प्रष्ट देखिएको छैन । उक्त भिडियो कपुरबोट मिडियाले सुरुमा सार्वजनिक गरेको हो ।

प्रहरीले अनुसन्धान गरिरहेको बेला भिडियो फुटेज कसरी सार्वजनिक भयो ? यस्तो समयमा भिडियो फुटेज सार्वजनिक हुनुले अनुसन्धान प्रभावित हुनेमा प्रहरी स्वंयम् जानकार छ । तर, सार्वजनिक भिडियोबारे प्रहरी प्रधान कार्यालयले अनविज्ञता प्रकट गरेको छ ।

प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) एवं प्रहरी प्रवक्ता समेत रहेका जनार्दन जिसीले आफूले सार्वजनिक भएको भनिएको सीसीटिभी फुटेज नहेरेको बताए । उक्त सीसीटिभी फुटेज कहाँबाट कसरी सार्वजनिक भयो चितवन प्रहरीसँग बुझेर मात्र भन्न सकिने एसएसपी जिसीको भनाइ थियो ।

अनुसन्धान नटुंगिदै भिडियो प्रहरीले नै सार्वजनिक गरेको हो भने तत्काल छानबिन हुने समेत एसएसपी जिसीले जिकिर गरे । ‘रियालिटी के हो बुझेर मात्र भन्न सकिन्छ,’ उनले थपे, ‘जहाँसम्म लाग्छ प्रहरीबाट त्यस्तो मात्र भएको छैन होला ।’

घटनाको भएको १० मिनेटमा घटनास्थलमा प्रहरी पुगेको बताइएको छ । तत्काल अनुसन्धान गर्ने भन्दै लामिछानेको घरमा जडान गरिएको सीसीटिभी फुटेज प्रहरीलाई मात्र दिइएको थियो । तर, प्रहरीलाई दिएको केही समयमै उक्त फुटेज कपुरबोट मिडियाबाट बाहिरिएको हो ।

प्रहरीले लगको भिडियो केही समयमै मिडियामार्फत बाहिर आउनुले अनुसन्धानमा प्रभावित पार्न खोजेको रास्वापाका नेता÷कार्यकर्ताहरुको बुझाइ छ । यस्तो घटना तत्काल रोक्न सकिएन भने पछि ठूदो दुर्घटना निम्तिन सक्ने रास्वपाका नेता राजन अर्याल बताउँछन् ।

उनी थप्छन्, ‘भिडियो जसले सार्वजनिक गरेपनि अनुसन्धान भइरहेको केसमा अनुसन्धान प्रभावित हुनसक्छ । यस्ता कुरामा सुरक्षा निकायमात्र नभएर जो कोही पनि संयमित हुन जरुरी छ ।’ त्यसैले तत्काल प्रहरीले यस विषयमा समेत छानबिन गर्नुपर्ने अर्यालको माग छ ।

अनुसन्धान भइरहँदा भिडियो कसरी सार्वजनिक भयो भनेर चितवनका एसपी कार्कीलाई सोध्दा लामिछानेकै आफन्तबाट मिडियामा गएको बताए । उनले थपे, ‘हामीले अनुसन्धानको लागि भनेर फुटेज मात्र ल्याएका हौं । पछि डिभाइस उतै छाडेर आएका हौं । कसरी सार्वजनिक भयो हामीलाई थाहा छैन ।’

छतबाट खसेका थापाको घाँटी समेत भाँचिएको छ । बिहान ३ बजेर ५४ मिनेटमा उनी खसेको सीसीटिभी फुटेजमा देख्न सकिन्छ । त्यो रात उनीसँगै रास्वापाका महामन्त्री मुकुल ढकालका चालक पनि सँगै सुतेको पाइएको छ । ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

उनीहरु सुत्ने कोठाबाट रक्सीको बोत्तल पनि बरामद भएको एसपी कार्कीले बताए । ‘रक्सी खाए नखाएको बारे उनको रगतको स्याम्पल निकालेर परीक्षणको लागि पठाइएको र रिपोर्ट आउन बाँकी छ,’ एसपी कार्कीले भने । घटनाबारे अन्य मानिसहरुसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

आउँदो १० वैशाखमा चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा मुख्तयः तीनजना (जीतनारायण श्रेष्ठ, रामप्रसाद न्यौपाने र रवि लामिछाने) बीच प्रतिस्पर्धा हुने देखिएको अनुमान छ । श्रेष्ठ नेपाली कांग्रेस, न्यौपाने नेकपा एमाले र लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार हुन् ।

प्रतिक्रिया