


आइतबार मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, कांग्रेससँग मागे ४ मन्त्रीको नाम

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग बाँकी रहेका मन्त्रीको नाम मागेका छन्।
आज शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका तीन नेताबीचको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका भागमा परेका चार मन्त्रीको नाम दिन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका हुन्।
कांग्रेसले आफ्नो भागमा परेका ८ मध्ये चार वटा मन्त्रालय स्वास्थ्य, परराष्ट्र, न्याय र खेलकुद मन्त्रालयमा मन्त्रीको नाम पठाउन सकेको छैन।
कांग्रेसभित्रको आन्तरिक किचलोले गर्दा सभापति देउवाले मन्त्रीको नाम पठाउन ढिलाई गर्दै आइरहेका छन्। कांग्रेसले नाम दिए आइतबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ।
प्रधानमन्त्रीको काँधमा अहिले पनि ६ वटा मन्त्रालय रहेका छन्। त्यसमध्ये ४ मन्त्रालय कांग्रेस, एक जसपा र एक प्रभु साह वा अमरेशकुमार सिंहमध्येबाट मन्त्री बनाउने उनको तयारी छ।
सभापति देउवाले एकलौटी निर्णय गरेर इतर समूहलाई हैसियतअनुसारको जिम्मेवारी नदिएको डा। शेखर कोइराला समूहको आरोप छ। कोइराला समूहले तीन मन्त्रालयमा दाबी गरेको छ। तर, देउवाले दुई मन्त्रालय दिएपछि कोइराला समूह असन्तुष्ट छ ।
सभापति देउवाले उपप्रधानमन्त्रीसहित रक्षामा उपसभापति पूर्णबहादुर खड्का, अर्थमा प्रवक्ता डा। प्रकाशशरण महत, शहरी विकासमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रमेश रिजाललाई पठाएका छन् ।

