


बिस्का जात्राअन्तर्गत भेलुखेलमा ठड्याइयो योसिं: द्यो

काठमाडौं – भक्तपुरमा चलिरहेको बिस्का जात्राअन्तर्गत भेलुखेलमा योसिंः द्यो ठड्याइएको छ। विस्का जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिंः द्योलाई योसिंख्योमा उभ्याउने गरिन्छ।
अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ। त्यसलगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालिको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ। जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ।
लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो। भैरवनाथको प्रतिक मानिने लिङ्गोको शीर्षभाग र हातहरु नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्ड्याउने चलन छ।
यी दुई वीरध्वजा र विश्वध्जालाई भैरवनाथको ध्वजासमेत भन्ने गरिन्छ। यी ध्वजाहरू फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ। लिङ्गो ठड्याउन बाँधिएका ८ वटा डोरीलाई अष्टमात्रिककको प्रतिक मानिन्छ।

