सिंहदरबारको फोहोर आज पनि नउठ्ने


काठमाडाै – काठमाडौ महानगरपालिकाले प्रमुख प्रशासनिक थलो सिंहदरबारको फोहर आज पनि नउठाउने भएको छ ।

मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारको फोहर उठेको छैन । आज पनि फोहर नउठ्ने महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए । फोहर कहिलेदेखि उठाउने भन्ने अनिश्चित छ ।

‘हामीले निर्देशन अनुसार काम गर्ने हो’, मानन्धरले भने– ‘सम्भवत: सम्बन्धित पक्षबीच वार्ता र सहमति भए पछि फोहर उठ्ला ।’ अस्ति मेयर शाहले फेसबुकमा स्टाटस लेख्दै सङ्घीय सरकारले सहयोग नगरेको भन्दै सिंहदरबारको फोहर नउठाउने घोषणा गरेका थिए ।

मेयर बालेनको स्टाटसपछि सिंहदरबारको फोहर उठेको छैन ।  महानगर क्षेत्रको ढल व्यवस्थापनदेखि सुकुम्बासी समस्या समाधानका लागि असहयोग गरेको भन्दै दबाब दिन महानगरपालिकाले सिंहदरबारको फोहर नउठाएको हो ।

यसैबीच, मेयर शाहले बाध्य भएर सिंहदरबारको फोहर  नउठाएको बताएका छन् । बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले यो निर्णय कुनै लहडमा नभइ बाध्य भएर गरिएको बताएका छन् । ९ महिनासम्म पटक पटक प्रयास गरे पनि बेवास्ता गरेको, गैरजिम्मेवारी र लापरबाही गरेको उनको आरोप छ । सङ्घीय सरकारसँग पटक–पटक पहल गरेको भए पनि सङ्घीय सरकारले समन्वयकारी भूमिका नखेलेको उल्लेख गरेका छन् ।

अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी, विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन, सामुदायिक विद्यालयका शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने, सरकारी अस्पताल सरसफाइ, बीमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तला भत्काउने आदेशको पालना, विमानस्थलको नक्सा पास, ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा लगायतका थुप्रै विषय समाधानका लागि पटक पटक सङ्घीय सरकारसँग पहल गरे पनि सिंहदरबारले बेवास्ता गरेको बताएका छन् ।

प्रतिक्रिया