सबैले विश्वास गर्ने परिस्थिति बनाएर सरकार सफल पार्ने मन्त्री खड्काको प्रतिबद्धता


काठमाडौं – नवनियुक्त उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति बनाएर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण लगत्तै मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरवारमा मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्त्वपूर्ण मन्त्रालय भएकाले सबै पक्षहरूसँगको छलफलबाट आफू अघि बढ्ने बताए ।

सामूहिकताको भावले सबैले सबैलाई सम्मान र विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने उनको भनाई थियो । न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्यूनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरू, सरकारका महत्त्वपूर्ण नीतिगत सुधारका कामहरू अघि सार्ने उनले बताए ।

‘यो मन्त्रालय महत्त्वपूर्ण छ, यसलाई बुझेर नै मैले आफ्ना कामहरू प्रधानमन्त्रीज्यूको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरू, नेपाली सेनाको प्रधानसेनापति लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरूसँग छलफल गर्नेछौँ’, मन्त्री खड्काले भने ‘हामी सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ । हामीले न्यूनतम साझा कार्यक्रमको तयारी गर्दै छौँ । मस्यौदा तयार भएको छ । सरकार विस्तार गर्ने काम लगभग सम्पन्न भएको छ । केही दिन भित्रमा नै न्यूनतम साझा कार्यक्रममार्फत ल्याउनेछौँ’,

प्रतिक्रिया