

सिरियामा सन् २०२३ मै ल्यान्डमाइन विस्फोटमा ५५ जनाको मृत्यु

काठमाडाैं – सिरियामा सन् २०२३ को शुरूदेखि हालसम्म ल्यान्डमाइन विस्फोटमा परी ५५ जनाको मृत्यु भएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार मर्नेहरूमा २ महिला र १८ बालबालिकाहरू पनि छन् ।
घटनाहरू विद्रोही नियन्त्रित क्षेत्र र बारुदी सुरङ्गको पत्ता नलागेका क्षेत्रहरूमा बढी पाइएको छ । त्यस्तै हामाको मध्य प्रान्तको सलामीएह क्षेत्रमा बिहीवार ५ जना मारिएका छन् ।
साथै सोही अवधिमा बारुदी सुरङ्ग विस्फोटबाट २८ बालबालिका र ४ महिलासहित ११८ जना घाइते भएको बेलाइतमा रहेको वाचडग समूहले जनाएको छ । देशको आधिकारिक समाचार एजेन्सी सानाले जनाएअनुसार पाँचजना पीडितहरू ट्रफल (एक प्रकारको (च्याउजस्तै) कन्दमूल) संकलनकर्ता रहेका र इस्लामिक स्टेट (आईएस) आतंककारीहरूले छोडेको बारुदी सुरङ्ग विस्फोटमा परेका थिए ।
बारुदी सुरङ्गमा मारिएका धेरैजसो किसानहरू वा मरुभूमि क्षेत्रमा ट्रफल संकलन गर्ने कामदारहरू रहेका बताइएको छ । यसअघि फेब्रुअरीमा आईएसले पूर्वी सिरियाको मरुभूमि क्षेत्रमा ६४ जना ट्रफल संकलनकर्ताहरूलाई मारेको थियो ।

