विमलनगर-घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द


दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो ।

मुग्लिन पोखरा सडक खण्डको विस्तार कार्यअन्तर्गत उक्त खण्डमा सुरक्षितरुपमा काम गर्नका लागि आज राति १२ बजेदेखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।

उक्त खण्डमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डले जनाएको छ । अत्यावश्यक सवारी साधन भने उक्त समयमा पनि सञ्चालन हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ ।

 

प्रतिक्रिया