
देशभर आम हड्तालको प्रभाव : प्रदेशमा कहाँ के के भए ?
काठमाडौं – नेकपाको प्रचण्ड–नेपाल समूहले बुधवार आह्वान गरेको आमहड्तालको प्रभाव देशभर परेको छ । सार्वजनिक सवारी प्रायः ठप्प नै छ । काठमाडौं उपत्यका सहित सबै मुख्य सहरमा गाडी कम चलेका छन् भने पसल पनि छिटपुट मात्रै खुलेका छन् । उपत्यकाको विभिन्न रुटमा सार्वजनिक सवारी साधन चलेपनि अघिल्ला दिनहरूमा जस्तो धेरै गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ ।
निजी गाडी र मोटरसाइकल पनि कम चलेका छन् । धेरै शिक्षण संस्था बन्द छन् । परीक्षार्थी हिँडेरै परीक्षा केन्द्रमा गएका छन् । हालसम्म सडकमा अवरोध गरेको भनेर प्रहरीले देशभरबाट १५० जना भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयका अनुसार देशभर विभिन्न १० स्थानमा तोडफोडका घटना भएका छन् । काठमाडौं उपत्यकामा ५ ठाउँमा, सुनसरीमा २ तथा चितवन, इलाम, सिन्धुली र मकवानपुरमा एक–एक वटा तोडफोडका घटना भएको प्रहरीले जनाएको छ।
प्रदेश १
आमहड्तालको प्रभाव प्रदेश १ का १४ जिल्लामा नै देखिएको छ । लामो तथा छोटोदुरीका सवारी सधान चलेका छैनन् भने मोटरसाइल र सिटी रिक्सा जस्ता सवारी सधान भने चलेका छन् । प्रमुख बजारका पसलहरू बन्द छन् । उद्योग, कलकारखाना र शैक्षिक संस्थाहरू पनि बन्द छन् ।

प्रहरीले विराटनगरबाट ६ जनालाई पक्राउ गरेको छ । मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षेत्रीसहित ६ जनालाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरीबाट ३ जनालाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिएसपी विपीन रेग्मीले बताए । धरानमा बन्दकर्ताले यातायातका साधन रोक्नेक्रममा बन्दकर्तालाई प्रहरीले रोकपछि झडप भएको थियो ।

प्रदेश २
प्रदेश २ मा पनि कार्यकर्ताहरु विरोधका कार्यक्रमसहित सडकमा देखिएका छैनन् । प्रदेश २ को सर्लाहीमा केही गाडीहरु चलिरहेका छन् भने पसलहरु पनि केही मात्रामा खुलेका छन् । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा प्रचण्ड–नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । सो क्रममा प्रहरीले दर्जन राउन्ड हवाई फायर गरेको हो।

बागमती प्रदेश
हेटौंडामा प्रदर्शनकारीहरूले सडकमा प्रदर्शन गरेका छन् । सडक, विद्यालय, उद्योग कलकारखानाहरू सबै बन्द रहेका छन् । चितवनमा बन्दकर्ताले चारवटा ट्रकमा तोडफोड गरेका छन् । धादिङको राजमार्ग क्षेत्रमा गाडी नचले पनि ग्रामिण क्षेत्रमा गाडी चलेका छन् । अरु जिल्लाका पनि ग्रामिण क्षेत्रमा बन्दको प्रभाव परेको छैन ।

काठमाडौं उपत्यकामा आमहड्ताल सफल पार्न भन्दै प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आफैं सडकमा निस्किएका छन् ।
रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् । पूर्वसभामुख एवं स्थायी समिति सदस्य कृष्णबहादुर महरा पनि सातदोबाटोमा देखिएका छन् । साथै सामाखुशीमा एकाबिहानै एक ट्याक्सीमा आगजनी भएको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशको पोखराबाट एकजना बन्दकर्ता पक्राउ परेका छन् । अहिले अवस्था सामान्य रहेको र केही दुई पाङ्ग्रे गाडीहरू मात्र चलेको प्रहरीले जनाएको छ । बन्दकर्ताले पोखराको महेन्द्रपुलमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा रामकाजी गुरुङ, दीपक कोइराला लगायतका नेताहरु सहभागी छन् । ओली समूहका नेता, कार्यकर्ताले भने बन्दको विरोधमा मोटरसाइकल र्याली निकालेका छन् जिल्ला प्रहरी कार्यालय, पोखराका डिएसपी सुवास हमालका अनुसार हालसम्म जिल्लामा कुनै उछृंखल गतिविधि भएका छैनन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा बन्दको बिहानैदेखि बन्दको प्रभाव परेको छ । आम हड्तालको असर प्रदेशका मूख्य सहरहरूमा परेको छ । बन्द प्रभावकारी बनाउन दाहाल–नेपाल समूहका कार्यकर्ताहरूले मूख्य–मूख्य चोकमा ठूलो संख्यामा गाडीहरूलाई रोकेर राखेका छन् । यद्यपि, एम्बुलेन्स, परीक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरू बोकेका सवारीहरू रोकिएका छैनन् ।

बन्दकर्ताहरू नै त्रसिनेगरी बुटवलमा सेनाले बख्तरबन्द गाडीहरूलाई बुटवलका सडकमा घुमाएको छ । एक्कासी बख्तरबन्द गाडीहरू घुमाएपछि राजमार्ग चौराहमा बन्द गराइरहेका कार्यकर्ताहरू अचम्ममा परेका थिए ।
प्रदेशका जिल्लाहरूका प्रमुख बजार बन्द नै छन् । उद्योग कलकारखाना सबै बन्द छन्।

कर्णाली प्रदेश
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि अहिले अवस्था सामान्य छ । सडकमा गाडी कम चलेका छन् । प्रचण्ड–माधव समूहका नेता कार्यकर्ता बन्द गराउँदै हिँडेका छन् भने ओली समूहका नेता, कार्यकर्ताहरु खुला गर्न माग गरिरहेका छन् ।

बन्दको अवज्ञा गरेर हिडेको भन्दै मोटरसाइकलमा सवार एक युवालाई कुटपिट गरेका छन् । आन्दोलनमा सहभागीले आज बिहान १० बजे मोटरसाइकल चलाइरहेका दैलेख भैरवी गाउँपालिकाका जोरासिंह विष्टलाई कुटपिट गरेका छन् ।
सुर्खेतमा पसलहरु बन्द गरिएका छन् । प्रहरीले विभिन्न ठाउँमा डाइभर्सन गराएर लामो दूरीको यातायात सञ्चालन गराइरहेको जनाएको छ ।
सुदुरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरलगायत जिल्लाको अवस्था पनि अहिले सामान्य नै रहेको छ । राजमार्गमा गाडी चलेका छैनन् भने पसल, उद्योग तथा कलकारखानाहरु पनि खुलेका छैनन् । डडेल्धुरामा बन्दको प्रभाव सामान्य रहेको छ । जिल्लामा बिहानैदेखि बजार व्यवसाय, गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैदेखि प्रहरीको स्कर्टिङमा गाडी चलेको छ ।




कागजपत्र |
