प्रहरीको महत्वपूर्ण कागजात बाहिर ल्याएको आरोपमा हवल्दार विष्टमाथि अनुसन्धान


काठमाडौं  – प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दार दिपक विष्टमाथि उच्च प्रहरी अधिकारीको कागजात सार्वजनिक गरेको आरोप अनुसन्धान थालेको छ ।

प्रधान कार्यालयले कर्मचारी प्रशासन शाखामा कार्यरत हवल्दार विष्टमाथि अनुसन्धान सुरु गरेको हो ।

विष्टमाथि कर्मचारी शाखाबाट उच्च प्रहरी अधिकारीको कागजात सार्वजनिक गरेको आरोप लागेको छ । केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक (आईजी)देखि प्रहरी नायब महानिरीक्षक (डिआईजी) सम्मको महत्वपूर्ण कागजातहरु सार्वजनिक भएको थियो ।

जसमा आईजीदेखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सम्मको जन्ममिति फरक-फरक रहेका कागजात विष्टसहित प्रहरी अधिकारीले सार्वजनिक गरेको प’ष्टि भएसँगै प्रधान कार्यालयले १ नम्बर गणमा राखेर अनुसन्धान थालेको हो ।

प्रहरी प्रधान कार्यालयले कर्मचारी प्रशासन शाखामा कार्यरत प्रहरी कर्मचारीको मोबाइल नियन्त्रणमा लिएर ल्याब परीक्षण गराएको थियो । ल्याब परीक्षणबाट विष्टले विभिन्न व्याक्तिमार्फत उच्च प्रहरी अधिकारीको सिटरोल सार्वजनिक गरेको खुलेको प्रहरी उच्च स्रोतको दाबी छ ।

उनी लामो समयदेखि प्रशासन शाखामा कार्यरत थिए । विष्टसहित तीन-चार जना प्रहरीमाथि अनुसन्धान सुरु भएको र पुष्टि भएमा कारबाही हुने प्रहरी प्रवक्ता एवं डिआईजी पोषराज पोखरेलले बताए ।

सार्वजनिक कागजातमा प्रहरीहरुको सिटरोल र जन्ममितिको अन्तरका कारण डिआईजी अशोक सिंहले भने बुधबार राजीनामा दिएका छन् । विवादित अन्य प्रहरीहरुको भने के हुन्छ ? प्रधान कार्यालय आफैंलाई थाहा होला ।

प्रतिक्रिया