

नुवाकोट बस दुर्घटना अपडेट : तीनको मृत्यु, २५ घाइते

नुवाकोट – नुवाकोटको चैनपुरमा भएको बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा परि २५ जना घाइते भएका छन्।
बट्टारबाट तारकेश्वर गाउँपालिका–१, दाङसिङ जाँदै गरेको बा.२ ख ८४५ नं.को बस बिहीबार अपरान्ह विदुर नपा–१२ चैनपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रवक्ता तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारको लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको हो
मृत्यु हुनेमा तारकेश्वर–६ का ७८ वर्षीय रामप्रसाद अर्याल र अर्यालकै श्रीमती ७२ वर्षीया सीतादेवी र विदुर नपा–३ का ७३ वर्षीय बाबुराम दर्जी नेपालीको मृत्यु भएको डिएसी खड्काले जानकारी दिए।
घाइतेमध्ये ४ जनाको अवस्था अत्यान्त गम्भीर रहेकोले काठमाडौं पठाइएको त्रिशूली अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।
डा. पाण्डेका अनुसार टाउकोमा गम्भीर चोट लागेकाहरुलाई काठमाडौं पठाइएको हो । बाँकी २१ जना घाइतेहरुको त्रिशूली अस्पतालमै उपचार भईरहेको छ। सडकदेखि खसेको बस करिब ५० मिटर तल पुगेको छ। बसमा चालक फरार रहेका छन्। उकालोमा बस व्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

