

टर्की भूकम्प : २४ हजार बढीको मृत्यु

इस्तानबुल – टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् ।
उद्धारकर्मीहरूका अनुसार टर्कीएमा २० हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन् । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।
टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् । भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको आज निधन भएको छ ।

