

हङकङ र मकाउबाट चीन आवागमन पूर्ण रूपमा खुला

काठमाडौं – कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्रायः रहेको हङकङ र मकाउका बासिन्दाको चीन आवागमन अब पूर्ण रूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र मकाउ आवतजावतमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ ।
महामारीले मन्दीतर्फ धकेलेको एसियाको आर्थिक केन्द्र हङकङलाई पुनः जीवन्त बनाउने तथा धेरैभन्दा धेरै विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पाँच लाख हवाई टिकट निःशुल्क वितरण गर्ने सरकारी घोषणा भएको अर्को दिन चीनले सबै किसिमका यात्रामा लगाएको प्रतिबन्ध हटाएको हो ।
बेइजिङले कोभिड– १९ विरुद्ध अख्तियार गरेको शून्य सहनशीलताको नीतिका कारण बिग्रिएको व्यापार, व्यवसाय र पर्यटनलाई अब पुरानै लयमा फर्काउन सहज हुने अपेक्षा छ भने तीन वर्षदेखि घरबाहिर रहेका परिवारका सदस्यको पुनर्मिलनलाई सुनिश्चित गरेको छ ।
हङकङ र मकाउ राज्यपरिषद् कार्यालयका अनुसार आगामी सोमबार मध्यरातदेखि निर्वाध रूपमा चीनबाट मकाउ र हङकङ तथा मकाउ र हङकङबाट चीन जान–आउन पाइनेछ । गत महिना एक्कासि बेइजिङले शून्य कोभिड नीति खारेज गरेपछि मुख्यभूमि जाने र त्यहाँबाट हङकङ र मकाउ आउजाउ सीमित मात्रामा हुने गरेको थियो ।
कोरोना संक्रमण नभएको प्रमाण प्रस्तुत गरेपछि मात्र दैनिक ६० हजारजनालाई आउजाउको अनुमति दिइएको थियो । हङकङका प्रमुख जोन लीले आंशिक रूपमा खुला गरिएको आवागमन व्यवस्थित, सुरक्षित एवं सहज रहेको बताएका छन् । पर्यटनका निम्ति विख्यात हङकङले तीन वर्षको बन्दाबन्दीबाट २७ अर्ब डलर गुमाएको अनुमान छ । मुख्यभूमिबाट अधिकभन्दा अधिक पर्यटक हङकङ घुम्न आउने गरेका छन् । सन् २०१८ मा पाँच करोड १० लाख मुख्यभूमिका चिनियाँले सुन्दर सहर हङकङको भ्रमण गरेका थिए ।
हङकङ महानगरका अधिकारीहरूले सबै प्रतिबन्ध हटाइएपछि मुख्यभूमिबाट मात्र नभई अन्य देशबाट पनि पर्यटक ओइरिने अपेक्षा गरेका छन् । कोरोनाविरुद्ध खोप नलगाएका विदेशीलाई पनि हङकङमा सोमबारदेखि स्वागत गरिने भएको छ । अब यहाँको यात्रा गर्दा ‘क्वारेन्टिन’ वा ‘आइसोलेसन’मा पनि बस्नुपर्दैन, यद्यपि प्रमुख प्रशासक लीले ‘एन्टिजेन टेस्ट’ आवश्यक हुने बताएका छन् ।
हङकङमा कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाइएको भए पनि ‘मास्क’ अनिवार्य रूपमा लगाउनुपर्छ । यो वर्षको शिशिर याम समाप्तिसँगै त्यो व्यवस्था पनि खारेज गरिने प्रमुख प्रशासक लीले बताएका छन् ।

