

कुनै पनि व्यक्तिलाई अर्को दल खारेज गर्न निवेदन दिने अधिकार छैनः प्रमुख आयुक्त थपलिया

काठमाडौं — प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुनले नै टुंगो लगाउँदै बताउँदै कुनै पनि व्यक्तिलाई कुनै पार्टी खारेज गर्नका लागि निवेदन दिने अधिकार नभएको बताएका छन् ।
शुक्रबार एक कार्यक्रममा फरक प्रसंगमा आयुक्त थपलियाले राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको बताए । उनले भने, ‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन । यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन ।’
विगतमा ४१ वटा दल खारेज गरेको उदाहरण दिंदै उनले भने, ‘त्यसका निश्चित क्राइटेरिया थिए । त्यो क्राइटेरियाभित्र रहेर आयोगले स्पष्टीकरण सोधेर त्यो कुरालाई अगाडि बढाउने कुरा निवेदन गर्न चाहन्छु ।’

