

उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार…

बुटवल – उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्न के पुरस्कार दिने ? विद्यालयको शैक्षिक गुणस्तर सुधार्न कस्तो उपाय अपनाउने ? यसका अनेकौं विधि होलान् । रूपन्देहीको मायादेवी गाउँपालिकाको सुन्डी माविले भने उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिने गरेको छ । विद्यालयले ८ वर्षदेखि विद्यार्थीलाई उत्कृष्ट भएबापत भैंसी दिँदै आएको हो ।
प्रधानाध्यापक सतिशचन्द्रमणि त्रिपाठीले विपन्न विद्यार्थीलाई पढाइमा निरन्तरता दिन सहयोग होस् भनेर भैंसी पुरस्कार कार्यक्रम ल्याएको बताए । ‘विद्यालयमा लोध, हरिजनलगायतका अति विपन्न परिवारका विद्यार्थी छन् । कतिपय अभिभावकको जग्गा छैन । गरिखाने सीप छैन,’ उनले भने, ‘यस्ता अभिभावकले छोराछोरीलाई बीचमै पढाइ छुटाउँछन् । भैंसी पाएपछि त्यसको कमाइले परिवार चल्छ र छोराछोरीको पढाइ छुट्दैन ।’
भैंसी पुरस्कार पाउन कक्षामा उत्कृष्ट भएर मात्र पुग्दैन । लेखन सीप, पठनशैली र सिर्जनात्मक क्षमता बढाउनुपर्छ । सिर्जनात्मक विद्यार्थी छान्न हरेक वर्ष विद्यालयले फरक–फरक प्रतियोगिता गरेर पुरस्कृत गर्छ ।
यस वर्ष अघिल्लो बुधबार पुस्तक समीक्षा प्रतियोगिता भयो । विद्यालयको पुस्तकालयमा भएका करिब ९ हजार पुस्तकमध्ये विद्यार्थीलाई पुस्तक छान्न दिइयो । छानेको पुस्तक पढेर त्यसको समीक्षा गर्न लगाइयो । कक्षा १ देखि ३, ४ देखि ६, ७ देखि ८, कक्षा ९ र १० को छुट्टाछुट्टै समूह बनाएर समीक्षा गर्न लगाइएको थियो । पहिलो र दोस्रो हुने ८ विद्यार्थीले भैंसी उपहार पाए । ‘विद्यालयमा अभिभावकसहित भेला बोलाएर प्रत्येकलाई मुर्रा जातको ६० हजार रुपैयाँ पर्ने ब्याउने भैंसी दिइएको हो,’ प्रधानाध्यापक त्रिपाठीले भने, ‘छोराछोरी उत्कृष्ट भए बाआमा आएर भैंसी लान्छन्, अति खुसी हुन्छन् ।’
विद्यालयले भैंसी पुरस्कार दिने भएपछि अभिभावकमा पनि आफ्ना छोराछोरी उत्कृष्ट बनाउने प्रतिस्पर्धा चलेको छ । यस वर्ष एकै घरका दुई भाइबहिनी उत्कृष्ट भए । कक्षा ३ मा अध्ययनरत विद्या मल्लाह र किसन मल्लाह प्रथम र द्वितीय भए । ‘गरिब थियौं । छोराछोरीलाई कापी–कलम पनि कसरी जुटाउने र पढाउने भन्ने थियो,’ पुरस्कृत विद्यार्थीका बुबा राजकुमारले भने, ‘अब यिनै भैंसी पालेर पढाउँछु ।’ भैंसीको आम्दानीबाट छोराछोरीको डाक्टर बन्ने इच्छा पूरा गरिदिने उनले बताए ।
भैंसी पुरस्कार कार्यक्रमले मिहिनेती, परिश्रमी र सिर्जनशील बनाएको विद्यार्थीको अनुभव छ । त्यसमध्येका हुन्– कक्षा १० मा अध्ययनरत कवि भुज र रामलोचन हरिजन । अति गरिब परिवारका उनीहरू कक्षामा आलोपालो प्रथम र द्वितीय हुन्थे । नगद पुरस्कार जितिरहन्थे । तर, सिर्जनात्मक प्रतियोगिता जितेका थिएनन् । ‘यसपटक पुरस्कार जित्नकै लागि मिहिनेत गर्यौं,’ रामलोचनले भने, ‘पुस्तक समीक्षामा प्रथम र द्वितीय भएर भैंसी पुरस्कार पनि जित्यौं ।’ भैंसी पालेर उच्च शिक्षाका लागि खर्च जुटाउने उनले बताए ।
भैंसी पुरस्कार पाउन नसक्ने विद्यार्थीलाई पनि विद्यालयले निराश बनाउँदैन । उत्कृष्ट सातौंसम्म हुनेलाई ५ हजार रुपैयाँका दरले नगद पुरस्कार दिने गरेको समाचार कान्तिपुर दैनिकका लागि बुटवलबाट अमृता अनमोल लेख्छिन् ।

