कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीस्थित देउवा निवासमा, विश्वासको मतबारे टुंगो लगाउँदै


काठमाडौं — नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा संसदबाट विश्वासको मत दिन आग्रह गरेअनुरुप संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकले प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्ने छ । पदाधिकारी बैठक लगत्तै संसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्ने छ । सो बैठकले विश्वासको मतबारे औपचारिक निर्णय गर्ने छ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदैछन् । प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्री प्रचण्डले कम्तिमा १३८ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्रीमा दाबी पेश गर्दा प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १६९ सांसदले समर्थन गरेका थिए ।

प्रतिक्रिया