
म्याच फिक्सिङ विषयमा गृहको चासो, अनुसन्धान गर्न नेपाल प्रहरीलाई पत्राचार
काठमाडौं – त्रिवि मैदानमा भइरहेको नेपाल टि-२० लिगमा म्याच फिक्सिङका विषयमा गृह मन्त्रालयले चासो देखाएको छ। मंगलबार म्याच फिक्सिङको सम्बन्धमा सूचना बाहिरिएपछि गृहले यसबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्रसमेत काटेको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र मणि पोखरेलले म्याच फिक्सिङका विषयमा बुझ्न प्रहरीलाई पत्र काटेको पुष्टि गरे। ‘हामीले पनि सञ्चारमाध्यमहरूबाटै म्याच फिक्सिङका बारेमा सुनेका हौं। त्यसैले यसबारे आवश्यक छानबिनका लागि प्रहरी प्रधान कार्यालाई पत्र लेखेका छौं,’ उनले भने। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले यस सम्बन्धमा अनुसन्धान गरी निष्कर्षमा पुग्ने बताएका छन्।
नेपाल टी-२० लिग खेलिरहेका काठमाडौं नाइट्सका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको कप्तान ज्ञानेन्द्र मल्लले जानकारी दिएका थिए। मंगलबार विराटनगर सुपर किङ्ग्सविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कप्तान ज्ञानेन्द्रले एक खेलाडीलाई प्रस्ताव आएको बताएका थिए। ‘अरु टिमको थाहा छैन, हाम्रो (काठमाडौं नाइट्सको) एउटा खेलाडीलाई ‘अप्रोच गरेको थियो,’ ज्ञानेन्द्रले पत्रकारलाई उत्तर दिँदै भने, ‘हामीले एसीयू (एन्टी करप्सन युनिट)लाई जानकारी गराएका छौं।’
नेपाल क्रिकेट संघ (क्यान)सँग प्रायोजन अधिकार किनेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा जारी प्रतियोगिताका खेलमा फिक्सिङ भइरहेको चर्चाले अहिले क्रिकेट वृत्त तरिङ्गित छ।



कागजपत्र |
