चिसोसँगै झ्याप-झ्याप बिजुली काटिने क्रम बढ्यो


काठमाडौं – काठमाडौंमा फेरि झ्याप-झ्याप बिजुली काटिने क्रम बढेको छ । पछिल्ला दिनमा जसरी चिसो बढेको छ, त्यही दरमा विद्युत जाने समस्या पनि बढ्न थालेको छ । विद्युत लाइन प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरिरहेको छ । गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो ।

गतवर्षहरुको भन्दा समस्या कम देखिएपनि अझै अनियमित बिजुली काटिने समस्या निवारण भइसकेको छैन । बरु चिसो बढ्दै जाँदा स्थानीय प्रणालीहरुमा लाइन काटिने समस्या बढेको छ । जाडो मौसममा हिटर, एसी, इलेक्टि्रक गिजर लगायत धेरै बिजुली खपत गर्ने यन्त्रहरु बढी चल्छन् । यसका कारण स्थानीय क्षेत्रमा वितरण गर्न राखेको ट्रान्सर्फमरको क्षमताभन्दा बढी बिजुली खपत हुने अवस्था प्रणालीमा चाप परेर ट्रान्सर्फमर बिग्रने समस्या बढी देखिने गरेको छ ।

प्राधिकरणका वितरण केन्द्रहरु भने यसलाई स्थानीय रुपमा उत्पन्न प्राविधिक कारण भन्दै टारिरहेका छन् । बिजुलीका स्थानीय प्रणालीमा प्राविधिक समस्या आउनुलाई प्राधिकरणले साधारण रुपमा ब्याख्या गर्दै आएको छ । तर, प्रणाली व्यवस्थापनमा प्राधिकरणले पर्याप्त ध्यान नदिएका कारण पनि यस्तो अवस्था उपभोक्ताहरुको अनुभव छ ।

अहिले काठमाडौं उपत्यकामा अधिकतम् करिब ५ सय मेगावाट बिजुलीको माग छ । गत वर्ष यही सयममा प्रणालीमा करिब ४७० मेगावाटसम्म पिक लोड थियो ।

प्रतिक्रिया