काठमाडौंमा चोरी गरी भागेका व्यक्ति उदयपुरबाट पक्राउ


काठमाडौं – काठमाडौंमा चोरी गरी भागेका एक व्यक्ति उदयपुरको गाईघाटमा पक्राउ परेका छन्। काठमाडौंमा चोरी गरी भागेका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २१ वर्षे सुजन गिरी उदयपुरको गाईघाटबाट पक्राउ परेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारका अनुसार पक्राउ परेका गिरीको साथबाट चोरी भएका सामान पनि बरामद भएको छ। उनले भने, ‘नगद एक लाख ८५ हजार ४१५ रुपैयाँ, अमेरिकी डलर २९२, भारतीय रुपैयाँ दुई लाख ५९ हजार एकसय, र ८० युरो बरामद भएको छ।’

उनका अनुसार चाँदीको जस्तो देखिने सिक्री दुई थान, चाँदीकै जस्तो ब्रासलेट एक थान, सुनजस्तो पहेँलो धातुको औँठी एक थान, घडी एकथान, मोवाईल चारथान, बुद्धचित्त ८० पिस र सानो रुद्राक्षको माला एकथान बरामद भएको छ।

उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित मिनिमार्केटमा रहेको एक गिफ्ट पसलमा एक व्यक्तिले पेस्तोल पाइन्छ भनी सोधेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले गाईघाटबाट सोमबार पक्राउ गरिएको पोदारले बताए।

‘पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा सोधपुछ गर्दा निज विगत ५/६ दिनदेखि गाईघाटमै रहेको मेलिना होटलमा बस्दै आएको बताए। त्यसपछि होटलमा रितपूर्वक खानतलासी गर्दा सामान बरामद गरिएको हो,’ उनले भने।

पोदारका अनुसार ती सामान काठमाडौंको बौद्धमा चोरी गरी भागेको पाइएको छ। आवश्यक कारबाहीका लागि बरामद भएको सामानसहित गिरीलाई प्रहरी वृत्त बौद्ध पठाइएको उनले जानकरी दिए।

प्रतिक्रिया