गण्डकी कांग्रेस संसदीय दल नेतामा सुरेन्द्र पाण्डे


पोखरा — नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयमा सम्पन्न मतदानमा प्रतिस्पर्धी भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका हुन् ।

पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्, १ मत बदर भएको छ । दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २ (२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २ (१) बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए ।

पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए ।

गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि कांग्रेसको सरकार नबन्ने निश्चित भइसकेको छ ।

प्रतिक्रिया