

तल्लो अरुण जलविद्युत परियोजना बनाउन सरकारले छान्यो भारतको सरकारी कम्पनी

काठमाडौँ – सरकारले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना विकास गर्नका लागि भारतको सरकारी कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन) लिमिटेडलाई छनोट गरेको छ।
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४६ औं बैठकले तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि एसजेभीएन छनौट गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण, अपनत्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा विकास गर्न भारतको सरकारी कम्पनी सतलज जलविद्युत निगम लिमिटेडलाई छनौट गरेको हो।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचिकृत भएका कम्पनीहरुको मूल्यांकन गरी सो निर्णय गरिएको लगानी बोर्डले जनाएको छ। त्यसैगरी, उक्त बैठकले लगानी बोर्डमा विशेषज्ञ सदस्यको रुपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवं आमन्त्रित सदस्यको रुपमा बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

