‘एउटा मुद्दामा ३०० कानून व्यवसायी राखेर अदालतले नै लम्ब्यायो भन्ने अवस्था कहिलेसम्म ?’ : न्यायाधीश मल्ल


काठमाडौं – प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस सुरु भएको १० दिन भएको छ। गत आइतबारदेखि संवैधानिक इजलासमा चलेको बहस आज बुधबार पनि जारी छ।

बुधबाररसम्म आइपुग्दा सात वटा निवेदनमा सुनुवाइ चलिरहेको छ। संवैधानिक इजलासमा १३ थान निवेदन छन्। दैनिक चारदेखि पाँच जना कानून व्यवसायीले बहस गरेर लम्बिँदै गएपछि न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा कति दिनसम्म लम्ब्याउने भन्दै निवेदकलाई प्रश्न गरेकी छन्।

‘एउटा मुद्दामा ३ सय कानून व्यवसायी राख्नुभएको छ। सबैले बहस गर्दा कति समय लाग्ने हो?’ बुधबारको सुनुवाइमा उनले प्रश्न गरिन्, ‘यो मुद्दालाई कति दिनसम्म लैजाने विचार हो ?’ प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा अदालतका कारण लम्बियो भन्ने विषय बाहिर गइरहेको भन्दै न्यायाधीश मल्लले चासो व्यक्त गरेकी हुन्। ‘बाहिरबाट अदालतले मुद्दा लम्ब्यायो भन्ने आएको छ। समयलाई कसरी व्यवस्थापन गर्ने हो ?’ उनले प्रश्न गरिन्।

जवाफमा निवेदक रहेका विघटित प्रतिनिधि सभाका सदस्य तथा नेकपा नेता कृष्णभक्त पोखरेलले त्यसमा आफूहरू सचेत रहेको बताए। उनले मुलुकको ध्यान उक्त मुद्दामा केन्द्रित भएको पनि बताए। ‘अधिवक्ताहरू संविधानको रक्षाका लागि आउनुभएको हो। हामीले पैसा दिएर बहस गराएका पनि छैनौं।’ उनले भने । उनको यो भनाइपछि वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहस गरिरहेका छन्।

प्रतिक्रिया