
माओवादी केन्द्रः महिलाको साख जोगाउँदै संसद् यात्रा तय गरेकी रेखा शर्मा
काठमाडौं – ०७९ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणाम करिब-करिब आईसकेको छ । रोकिएर पुनः मतदान भएको दोलखा र बाजुरामा मत परिणाम आउन बाँकी रहेता पनि कस्ले बाजी मार्ला भन्ने टुंगो लागिसकेको छ । यसपटकको निर्वाचनमा राष्ट्रिय पार्टीमा स्थापित सबै पार्टीहरुबाट महिला उम्मेद्वारको संख्या न्यून रहेको थियो ।
सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४७ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा ८ जना तथा १७ प्रतिशत महिला उम्मेदवार उठाएको थियो भने नेपाली कांग्रेसले ५ प्रतिशत महिला उम्मेद्वार उठाएको थियो । माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ उठाएका ८ महिला उम्मेद्वार मध्ये एक जनाले मात्रै साख जोगाएका छन् ।
यी हुन् महिला उम्मेद्वार
माओवादी केन्द्रबाट सात प्रदेशमध्ये ४ वटा प्रदेशमा ८ जना महिला उम्मेदवार उठाए पनि प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेश गरी ३ वटा प्रदेशमा भने महिला उम्मेदवार शून्य रहेको थियो ।
बागमती प्रदेशमा माओवादी केन्द्रले पाँच जनालाई उम्मेदवार बनाएको थियो । जस मध्ये गठबन्धनको साझा उम्मेदवारका रूपमा काठमाडौं निर्वाचन क्षेत्र न.२ बाट ओनसरी घर्ती मगरलाई उठाएको थियो । तर भर्खरै उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार सोविता गौतमसँग पराजय बेहोरेकी थिईन् । गौतमले १५ हजार २२९ मत प्राप्त गर्दा घर्तीले ९ हजार ४४९ मत प्राप्त गरेकी थिईन् ।
काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ७ बाट नेकपा (माओवादी केन्द्र) ले मानुषी यमीलाई उम्मेदवार बनाएको थियो । मानुषी राष्ट्रिय स्वतन्त्र पार्टी गणेश पराजुलीसँग पराजित भएकी हुन् । पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा मानुषीले ६ हजार ६३ मत प्राप्त गरेकी थिईन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा नेकपा (माओवादी केन्द्र) बाट कल्पना धमलालाई उम्मेद्वार उठाएको थियो भने धमला नेकपा एमालेका उम्मेद्वार कृष्णगोपाल श्रेष्ठसँग पराजित भएकी थिईन् । श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दा धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी थिईन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१० नेपाली कांग्रेसको भागमा परेको भए पनि नेकपा (माओवादी) केन्द्रको तर्फबाट अञ्जना विशंखेले बागी उम्मेदवारी दर्ता गराएकी थिईन् । विशंखेले नेपाली कांग्रेसका उम्मेद्वार राजन केसीसँग फराकिलो मतान्तरले पराजय व्यहोरेकी थिईन् । केसीले १४ हजार ४४८ मत पाउँदा विशंखे ४ हजार २६० मत मात्र पाएकी थिईन् ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट पम्फा भुसालले उम्मेदवारी दर्ता गराएकी थिईन् । यस पटकको निर्वाचनका भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार तोसिमा कार्कीसँग पराजय भएकी हुन् ।
भुसालले ८ हजार ७६९ मत प्राप्त गर्दा कार्कीले ३१ हजार १३६ मत प्राप्त गरेकी थिईन् । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री रहेकी भुसाल २०७४ सालको प्रतिनिधिसभा निर्वाचन र २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नम्बर-३ बाटै निर्वाचित भएकी थिइन ।
सुदूरपश्चिममा एक्ली उम्मेदवार बिना
कञ्चनपुर १ बाट गठबन्धनको साझा उम्मेदवारको रुपमा मोओवादी केन्द्रबाट पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी बिना मगरलाई उम्मेदवारी उठाएको थियो । मगर नेकपा एमालेका उम्मेद्वार तारा लामासँग पराजित भएकी हुन् । लामाले २४ हजार ८९२ मत प्राप्त गर्दा विनाले १९ हजार ३४६ मत प्राप्त गरेकी थिईन् ।
त्यस्तै प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा पार्टीकी केन्द्रीय सदस्य गोमा गौतमलाई माओवादीले उम्मेदवार बनाएको थियो । गौतम राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेद्वार ज्ञानबहादुर शाहीसँग पराजय भएकी हुन् । शाहीले २२ हजार ८६० मत प्राप्त गर्दा गौतमले ११ हजार ९५९ मत प्राप्त गरेकी थिईन् ।
नेकपा (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेशमा ७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा एक जना मात्रै महिलाको उम्मेदवारी दर्ता भएको थियो । जसमा दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट रेखा शर्माको उम्मेदवारी परेको हो । उनी १९६ मत अन्तरले एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत ल्याएर पराजित भएका थिए ।
को हुन् रेखा शर्मा ?
२०२६ सालमा दाङमा जन्मिएकी रेखा शर्माले २०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरेकी हुन् । त्यस्तै २०५१ सालमा योङ्ग कम्युनिस्ट लिगको केन्द्रीय सदस्य भएकी थिइन् । त्यस्तै उनी २०५७ सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय सदस्य भइन् ।
२०५३ सालदेखि ०५८ सम्म उनी अनेमसंघ क्रान्तिकारीको अध्यक्षको जिम्मेवारीमा रहिन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यमा समेत रहिन् उनी । त्यस्तै गतवर्ष सम्पन्न माओवादी महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य बनिन् ।
शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो । उनी २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् ।
२०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म उनी सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहिन् । उनी सशस्त्र द्वन्द्वको समयमा २०५८ साल चैतदेखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा समेत परेकी थिइन् ।
माओवादीले प्रदेश एकमा ८, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा ११, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ४ जनाको उम्मेदवारी दर्ता गराएको थियो।



सरू श्रेष्ठ |
