

लिङ्देनसँगको भिडन्तमा दुर्गा प्रसाईले सिटौलालाई साथ देलान् ?
किन भेट भयाे सिटाैला र प्रसाई ?

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नम्बर नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले एमाले नेता तथा चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग भेट गरेका छन् ।
झापा क्षेत्र नम्बर ३ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने चाहना राखेका प्रसाईलाई पार्टीले टिकट नदिएर राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनलाई समर्थन गरेपछि प्रसाई लामो दुई साता बढी विदेश भ्रमणमा निष्किएका थिए ।
आफूले टिकट नपाएको र राप्रपालाई आफूले रोजेको क्षेत्रमा समर्थन गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका प्रसाईले राप्रपा अध्यक्ष लिङ्देन नक्कली हिन्दुवादी भएको आरोप लगाउँदै आफूले राप्रपालाई भोट नहाल्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
झापा क्षेत्र नम्बर ३ मा विभिन्न सामाजिक सेवा र विकास निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न भएका प्रसाईसँग सिटौलाको भेटमा जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्ने संविधानको सफल कार्यान्वयन गर्ने पक्षधर र उम्मेदवारलाई विजयी गराउनु पर्ने विषयमा कुराकानी भएको भेटमा सहभागी एक नेताले बताए ।
सो भेटमा प्रसाईसँग झापाकै क्षेत्र नम्बर ३ मा पर्ने कचनकवल गाउँपालिकाका मुस्लिम समुदायका अगुवा शेर आलमबीच बिर्तामोडमा रहेको प्रसाईको बीएण्डसी अस्पतालमा भेट भएको स्रोतले बतायो । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कचनकवलमा राप्रपाबाट उम्मेदवार भएका अन्जार आलम गत वैशाखको निर्वाचनमा कांग्रेसका उम्मेदवार कालेन्द्र राजवंशी विजयी भएका थिए ।
झापाको क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सिटौला र एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपा अध्यक्ष लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिरहेको बेला प्रसाईसँग सिटौलाको भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमालेले अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा समेत आफ्ना कार्यकर्तालाई गणतन्त्र र संघीयता विरोधी राजतन्त्र पक्षधर दल राप्रपाका उम्मेदवार लिङ्देनलाई मत हाल्न लगाएको भन्दै यो पटक प्रतिनिधिसभा सदस्यमा एमालेका नेता प्रेम गिरीले उम्मेदवारी दिएका छन् ।
एमालेबाट बिद्रोही उम्मेदवार उठ्नु, उम्मेदवारको चाहना राख्ने प्रसाईले लिङ्देनको विपक्षमा अभिव्यक्ति दिनुले यो क्षेत्रमा सिटौलाको र लिङ्देनबीचको प्रतिस्पर्धा झन् रोचक बन्ने निश्चित छ । मंगलबार मात्र राप्रपाले झापामा आयोजना गरेको चुनावीसभामा भारतीय चलचित्रकी नायिका मनिषा कोइरालाको उपस्थितिले चुनावी माहौल तताइरहेको बेला सिटौलाको यो भेटले उनलाई बल मिल्ने कांग्रेसका कार्यकर्ताको आंकलन छ ।
गत स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले पाएको मतभार ३२ हजार ६३७ रहेको छ भने एमाले र राप्रपाको मतभार करिब ४२ हजार देखिन्छ । यहाँ सिटौला एमालेको केही मत तान्ने योजनामा छन् भने लिङ्देन सबै मत आफ्नै पक्षमा आओस् भन्ने रणनीतिमा छन् । सिटाैला र लिङ्देनकाे याे तेश्राे प्रतिस्पर्धा हाे भने सिटाैला साताैंपटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रदेशतर्फ भने गठबन्धन दलको तर्फबाट कांग्रेसका भूमिप्रसाद राजवंशी र माओवादीका पूर्णसिंह राजवंशी उम्मेदवार छन् भने एमाले–राप्रपाको गठबन्धनमा एमाले बसन्तकुमार बानियाँ र छविलाल चुडाल चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट प्रदेशसभा ‘ख’ मा उम्मेदवार भएका पूर्णसिंह राजवंशीले २०६४ सालको संविधानसभा निर्वाचनमा गृहमन्त्री समेत रहेका सिटौलालाई पराजित गरेका थिए ।

