


दार्चुला पुगे देउवा र प्रचण्ड, ‘चुच्चे नक्साको विषयमा ओलीले गरे आत्मसमर्पण’

दार्चुला – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक साथ दार्चुला पुगेका छन् ।
सदरमुकाम खलंगामा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै देउवा र प्रचण्ड पुगेका हुन् ।
उक्त अवसरमा प्रचण्डले ओलीले झुठा आश्वासन र प्रलोभन दिएको भन्दै प्रतिकार गरेको दुवै जनाले कालापानी, लिपुलेक र लिम्पिया धुरा समेटिएको चुच्चे नक्सामा ओली आत्मसमर्णण गर्न बाध्य भएको आरोप लगाएका छन् ।
‘ओलीले होइन म समेत अत्यधिक बहुमतले चुच्चे नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो, भ्रममा नपर्नुहोला म पनि त्यही पार्टीको अध्यक्ष थिए,’ प्रचण्डले भने, ‘केही समयपछि चुच्चे नक्साको विषयमा ओलीले आत्मसमर्पण गरेका छन् ।’
तत्कालीन नेकपाको बहुमतको निर्णयले बाध्य भएर ओलीले चुच्चे नक्सा ल्याएको उनको दाबी थियो । उनले ओली चुनावको लागि गोहीको आशु झार्दै हिँडेको आरोप समेत लगाएका छन् ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समेत चुच्चे नक्सा ल्याउनमा ओलीको भन्दा पनि प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भूमिका बढि भएको दाबी गरे ।
‘ओलीजीले दार्चुला आएर के–के गर्छु भनेर धेरै किसिमका अफवाह र प्रलोभन दिएर जानुभएको रहेछ । कालोपानी, लिपुलेक र लिम्पिया धुरा नेपालको भूमी हो,’ सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘चुच्चे नक्सा आफूले ल्याएको भनेर झुठा कुरा गर्दैहुनुहुन्छ । प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टीले ल्याएको हो । हामी सबैले संसदबाट बहुमतले पारित गरेको सबैलाई थाहा छ ।’

